प्रचण्ड, देउवा र ओलीबीच आज बालकोटमा भेटवार्ता हुँदै

काठमाडौँ  । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । 

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आज बिहान ९ः०० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।

बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने  र संसद्मा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिनुभयो ।

''विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ'', उनले भन्नुभयो, ''यो बीचमा तीन दिन यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ः०० बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको छ।''

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : २९ बजे