राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्दै छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । 

यसअघि, गत बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । 

उक्त स्थगित बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा (पार्वती) ले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५ ०७६, ०७६ ०७७ र ०७७ ०७८ को वार्षिक  प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : २० बजे