‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

काठमाडौँ । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ ।

सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिनुभयो ।

“सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ ।

यसले हामीलाई ठूलो क्षति भएको छ”, उहाँले भन्नुभयो । यस अगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ ।

यसअगाडि उहाँकै समूहले निर्माण गरेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’समेत पाइरेसी भएको थियो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।

प्रदर्शनको दुई दिनमै सो चलचित्रले रु चार करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : २२ बजे