माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’को उग्रवामपन्थी उठान र दक्षिणपन्थी बैठान नेपालको वाम आन्दोलनको एउटा नकारात्मक प्रवृत्ति बनेको छ ।
जननेता मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादजस्तो नेपाली धरातलीय यथार्थसँग ठ्याक्कै मेल खाने विचार अङ्गीकार गरेपछि त्यो विचारको तेजोवध गर्न वा गराउन प्रचण्ड पात्रको उदय भएको थियो । दोस्रो विश्व युद्धपछि बिलकुलै भिन्न परिस्थितिमा चीनमा माओको नेतृत्वमा गाउँबाट सहर घेर्ने र बलपूर्वक सत्ता कब्जा गर्ने आन्दोलनको नेपालमा कपी पेस्ट गरियो । सञ्चार, बाटोघाटो, राम्रो शिक्षा पुग्न नसकेका गरिब बस्तीबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहले चीनमा जस्तो सत्ता कब्जा गर्न नसकेपछि शान्तिपूर्ण संसदीय राजनीतिमा उनी आइपुगेका थिए ।
एमाले, काँग्रेससँग भएको १२ बुँदे दिल्ली सम्झौतापछि सामन्ती समाजको जगमा स्थापित आफू–आफू मारामार गरेर मक्किइसकेको नेपालको राजतन्त्रलाई विस्थापित गर्ने १९ दिने जनआन्दोलनपछि माओवादी राज्यसत्तामा एमाले–काँग्रेससँग साझेदारी गर्दै आएको छ ।
तत्कालीन नेकपा(माले)को सिराहा महाधिवेशन र एमालेको ऐतिहासिक पाँचौँ महाधिवेशनले सामन्तवाद–साम्राज्यवाद विरोधी जनवादी राज्यसत्ता स्थापना गर्ने स्पष्ट खाका तय गरेको थियो । रुस, चीन वा अन्य देशमा सम्पन्न क्रान्तिको कपी पेस्ट नभई नेपालको विशिष्ट सामाजिक, सांस्कृतिक र भूमण्डलीय यथार्थमा आधारित मौलिक क्रान्तिको बाटो तय गरेको थियो ।
पार्टीको त्यही कार्यदिशाको लोकप्रियताको जगमा पहिलो कम्युनिष्ट सरकार २०५१ सालमा गठन हुन पुगेको थियो । त्यसपछि एमालेले जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको समाजवाद उन्मुख जनवादी राज्यसत्ता निर्माण गर्न श्रमजीवी जनतालाई सचेत र सङ्गठित गर्ने, समाजको आमूल लोकतान्त्रीकरण गर्ने र निर्वाचनमा श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने कार्यनीतिलाई निरन्तर परिष्कृत गर्दै आएको छ । पार्टीको कार्यदिशा बमोजिम एमाले नेता–कार्यकर्ता देशका मालिक सार्वभौम जनताको सेवामा निष्कलङ्क र इमानदार भएर अहोरात्र खटिरहेका छन् ।
तर माओवादी चटके कार्यनीति अवलम्बन गर्दै आएको छ । कुनै बेला बन्दुकलाई सबै थोक ठान्ने माओवादी शान्ति प्रक्रियापछि पैसामा शक्ति देख्न थाल्यो । पैसाको लागि एनकेन प्रकाणेण सत्तामा रहनुपर्ने आफ्नो मूल लक्ष्य बनाउन थाल्यो । ‘कि शक्ति बन्दुकमा, कि शक्ति पैसामा हुँदो रहेछ’ भन्ने प्रचण्डको ‘महान्’ उद्गारपछि माओवादीको र्याङ्क एन्ड फाइलमा त्यसैको सञ्चार भयो । कम्युनिष्ट आदर्श, मूल्य–मान्यता र इमानदारी भाँडमा गए । पूर्वीय शास्त्रमा लेखिएको ‘सर्वेषामेव शौचानाम् अर्थशौचम् परम्मतम्’ वाक्यांशको धज्जी उडाइयो । अर्थ शौचमा चुकेका माओवादी नेता–कार्यकर्ता ‘सुकिला–मुकिला’ परिधानमा बालुवाटार र सिंहदरबारमा बुर्कुसी मार्न थाले । र, यो अद्यापि जारी छ ।
नेपाली काँग्रेस र अरू दक्षिणपन्थी पार्टीको वैशाखीमा माओवादी सुप्रिमो प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा विराजमान भए पनि जनतामा माओवादी पार्टी रित्तिँदै गएको छ । यसको पछिल्लो प्रमाण उपचुनावमा माओवादीले कुनै ठाउँमा आफ्नो उम्मेदवार उठाउन नसक्नु हो । माओवादी अरूको वैशाखी बेगर एक पाइला पनि अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छ । परिवर्तनको सबै जस आफैँ लिन खोज्ने माओवादी यथार्थमा नेपाली काँग्रेसको सहयोगी शक्तिमा पतन भएको छ ।
आफ्नो फरक अस्तित्व राखेर नेपाली राजनीतिमा माओवादी पुनरागमन अब सम्भव देखिँदैन । विगतमा उसले जनतालाई देखाएको समतामूलक समाजवादी समाजको सपना पूर्णरूपेण समाप्त भएको छ । उग्रवामपन्थ अन्ततोगत्वा उग्रदक्षिणपन्थमा पुगेर समाप्त हुन्छ भन्ने विश्व कम्युनिष्ट आन्दोलनको अनुभव उनीहरूमा चरितार्थ भएको छ ।
चिनियाँ क्रान्तिका नेता माओ जापानी साम्राज्यवादी आक्रमणविरुद्ध कम्युनिष्ट चीन पूर्वको दक्षिणपन्थी सत्तारूढ कोमिङताङसँग मिलेर लडेका थिए । च्याङकाइसेकका सेना र चिनियाँ कम्युनिष्ट पार्टीका जनमुक्ति सेनाले संयुक्त रूपमा जापानलाई परास्त गरेका थिए । त्यस लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीले नौलो जनवादी क्रान्तिको कार्यभार पूरा गरेको थियो ।
आश्चर्य नै मान्नुपर्छ, नेपाली ‘माओवादी’हरू नेपाली काँग्रेससँग मिलेर नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी(एमाले)सँग ‘अन्तिम युद्ध’ लड्दै छन् । नेपाली काँग्रेस, मधेसवादी दलजस्ता ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ शक्तिसँग मिलेर अलिकति पनि एमालेको कद घटाउन सकियो उनीहरूको ‘क्रान्तिको कार्यभार’ पूरा हुनेछ ! योभन्दा बढी माओवादको विद्रुपीकरण के नै हुनसक्छ र । माओवादी आन्दोलनको पतनको पराकाष्ठा के नै हुन सक्छ र ।
प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार १० : ०४ बजे
प्रतिक्रिया