प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ः०० बजे बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीन वटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ।

त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

त्यसैगरी सभामुख घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०१५ सालको प्रतिनिधिसभाको आम निर्वाचनमा निर्वाचन क्षेत्र नं. २६, धनकुटा मध्येबाट निर्वाचित सदस्य, प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा मिति २०७९ साल चैत २४ गते शुक्रवार असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक शोक प्रस्ताव प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : २० बजे