प्रचण्डले आफैंलाई दिएको धोकाको परिणाम छिट्टै भोग्छन् : पोखरेल

 

हेटौंडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले दिएकाे धोकाको  परिणाम छिट्टै पाउने बताउनुभएकाे छ ।

पार्टीको ‘मिसन ग्रासरुट’ अभियानमा हेटौंडा पुगेर महासचिव पोखरेलले देख्नलाई माओवादीले एमालेलाई धोका दिएको जस्तो देखिए पनि प्रचण्डले आफैंले धोका खाइरहेको बताउनुभयाे  । 

‘अहिले कतिपय हाम्रै एमाले कार्यकर्ता पनि प्रचण्डबाट हामीलाई धोका भयो भनिरहनुभएको छ तर यस्तो अन्योलबाट मुक्त हुन जरुरी छ’ पोखरेलले भन्नुभयाे, ‘प्रचण्डले एमालेलाई होइन बरु उनीहरू आफूले आफैंलाई धोका दिएका हुन् । अबको केही समयमा माओवादीले आफैंले पाएको धोकाको परिणाम थाहा पाउँछ ।’

प्रचण्डले प्रधानमन्त्री भए पनि काम गर्न नसक्ने, अर्थतन्त्र सुधार्न नसक्ने र काम गर्न नसकिने रहेछ भनेर स्वीकार्ने  पोखरेललेकाे भनाई थियो ।  

महासचिव पोखरेलले सरकारकै कारण देश कर्मचारीलाई तलब खुवाउन समेत वैदेशिक ऋण लिनुपर्ने अवस्थामा पुगेको बताउनभुयाे । 

‘आज मुलुकमा जुन प्रकारको संकट उत्पन्न भएको छ, त्यो अहिलेको सरकार र राजनीतिक अस्थिरताको कारणले हो,’ महासचिव पोखरेलले भन्नुभयाे, ‘आउँदो असार महिनापछि यो मुलुकमा सरकारले ऋण लिएर कर्मचारीलाई तलब खुवाउनु पर्ने स्थिति उत्पन्न भइसकेको छ ।’

कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने, खर्च र आम्दानीको बीचमा दुई खर्बको अन्तर हुनु, आम्दानी भन्दा खर्च दुई खर्ब ज्यादा हुनुले मुलुकको आर्थिक अवस्था सङ्कटमा फसिसकेको स्पष्ट हुने उहाँको भनाइ छ । उहाँले देश चरम आर्थिक संटबाट गुज्रिरहेको भए पनि व्यापारीको सम्पत्ति भने अर्वौं बढेको चर्चा समेत गर्नुभयाे ।

‘एक जना व्यापारीको सम्पत्ति एक वर्षमा ४० अर्ब बढ्यो । देश संकटमा छ, देशको एउटा व्यापारी ४० अर्ब एक वर्षमा कमाइ गर्छ । कसरी सम्भव हुन्छ यो कुरा ?’ नेता पोखरेलले भन्नुभयाे , ‘तपाईहरूले सुन्नु भएको होला, बजेट बनाउने बेलामा एकजना व्यापारीका एजेन्टलाई राखेर करका दरहरू हेरफेर गरियो भन्ने कुरा । बाहिर सार्वजनिक भयो, पछि त्यसलाई लुकाउनका लागि सीसीटीभीका फुटेजहरू, गायब पार्नका लागि तारहरू काटियो । त्यही घटनाको परिणाम एउटा व्यापारीको सम्पत्ति ४० अर्ब वृद्धि हुनु हो ।’

महासचिव पोखरेलले देश संटबाट गुज्रिरहनुको मुख्य कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पार्नुभयाे । उहाँले कांग्रेस र माओवादीले अवलम्बन गरेको १५ महिनाको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनुभयाे  ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ४८ बजे