उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने, निर्वाचन आजै

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । 

तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । 

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । 

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभार मध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको छ । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको छ । 

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधवार भएको निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज बिहान सकिएको हो ।

मत परिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गर्नुभयो साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गर्नुभयो । साथै ८ मत बदर भयो । 

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गर्नुभयो । साथै ३ मत बदर भयो । वस्तुगततर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भयो ।

महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ ।

साथै जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन आजै
वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १२ : २१ बजे