नेपाल बार एशोसिएसनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गर्ने भएको छ । 

यसका लागि आज बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । यसअघि मङ्गलवार पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो । 

१ वर्षदेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिनुभयो । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उहाँको भनाइ छ । 

यसबारे भेटमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउन र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ८ : ०१ बजे