इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमीफाइनलमा फिक्कलले दमकलाई ३—२ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए ।
४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३—१ बनाए । दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरेपनि जितका लागि पर्याप्त भएन् । जितसंगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच २ गोलकर्ता शेखर घोषित हुँदै नगद २ हजार प्राप्त गरे । दमकले आयोजक देउराली स्र्पोटिङ क्लब र फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएका थिए ।
दोश्रो सेमीफाइनल खेलमा बुधबार विर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ । विर्तामोडले नवप्रयास ताप्लेजुङ र बुट्टाबारीले रेडहर्स इलामलाई हराउँदै सेमीफाइनल पुगेको हो । आगामी बैशाख १ गते फाइनल हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल अघि चैत्र ३० गते देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारी बिच मैत्रीपुर्ण खेल हुनेछ । त्यसैगरी इलाम भेट्रान र सन्दकपुर भेट्रान तथा जनप्रतिनिधि र राजनीतिक दल बिच मैत्रीपुर्ण खेल हुनेछ ।
प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ३ : ४८ बजे
प्रतिक्रिया