संघीय निजामती विधेयक मस्यौदाको विरोधमा कर्मचारीहरुको आन्दोलन

काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदामा आपत्ति जनाउँदै राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा र खरिदार) ले आन्दोलन गरेका छन् ।  ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’ नाममा उनीहरूले १५ बुँदे माग  राख्दै आन्दोलन शुरु गरेका हुन् ।

१९ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई नासुको आँसु नदेख्ने भन्दै एसएमएस गरेका राजपत्र अनंकित कर्मचारीहरुले मंगलबार माइतीघरमण्डलामा प्रदर्शन नै गरे ।

‘शाखा अधिकृत पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न, राजपत्र अनंकित कर्मचारीलाई पनि सेवा अवधि र शैक्षिक योग्यताका आधारमा उपसचिव र सहसचिवमा प्रतिस्पर्धाको बाटो खोल्न माग गरिएको  निजामती कर्मचारी स्वतन्त्र अभियान’ का संयोजक पशुपति पोखरलेले बताएका छन् । 

 १५ बुँदे मागहरु

१. कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघीय प्रदेश र स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर ।

२. राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर ।

३. तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर ।

४. तीनै तहमा कायम हुने गरी तहगत प्रणली लागू गर ।

५. जहाँ सरकार, त्यहाँ ट्रेड युनियन अधिकार कायम गर ।

६. कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर ।

७. तीनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गर ।

८. अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर ।

९. सबै पदका कर्मचारीहरूको पदसोपान अनुसार तलवमान कायम गर ।

१०. संघ, प्रदेश र स्थानीय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर ।

११. संघीय निजामती सेवा ऐनको मस्यौदा र उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर ।

१२. क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर ।

१३. सरुवा प्रणाली चक्रिय र पूर्वानुमान योग्य बनाऊ ।

१४. पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई १ तह र दश वर्ष भन्दा बढी सेवा अवधि भएकालाई २ तह वृद्धि गरियोस् ।

१५. तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव ९एघारौं० र उपसचिव ९नवौं तहको खुल्ला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था होस् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : ५२ बजे