टिआरसी सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न दिँदैनौँ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताउनुभएको छ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो।

उहाँले सत्ता पक्षले फास्ट ट्रयाकबाट नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विषयगत समितिमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टिआरसीको विषयमा उहाँहरले फास्ट ट्रयाकबाट जाने कुरा गर्नुभएको छ। प्रोसेसको कुरा गरिरहनुभएको छ। हामी प्रोसेस छिटो गर्ने कुरामा तयार छौँ। तर कन्टेनमा छलफल गरौँ। कतिपय हिसावले कन्टेनमा नै बहस गर्नुपर्ने कुरा छ। त्यसैले यो विषय राष्ट्रिय विषय हो। सत्ता पक्षको एकाङ्की विषय होइन। अन्य बिलहरु जसरी हामी संसदको अल्पमत र बहुमतले बढ्छौँ, यो विधेयक फरक हो।’

उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो टुंगिनुपर्छ भन्नेकुरामा नेकपा एमाले पनि सहमत भएको तर राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेर मात्रै विधेयक टुंग्याइनुपर्ने बताउनुभयो ।

सचेतक बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई राष्ट्रको साझा विषय बनाइ कुनैपनि प्रश्न उठन नदिने गरी टुंग्याउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  २ : ३४ बजे