आजको मौसम: सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।  

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : ४१ बजे