गैर आवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । 

एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । 

महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रवार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गर्नुभएको हो । 

यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । 

कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी, अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराउनुभएको थियो भने अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा सङ्घका सबै सदस्य अट्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष भवन भट्ट, सङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र सङ्घलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डोर्‍याउन सबैको सहयोगको अपेक्षा गर्नुभयो । 

सन् २००३ मा स्थापित सङ्घले २० वर्षमा रचनात्मक काम गरेको छ । हालसम्म विश्वका ८६ देशमा सङ्घका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन्  ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : १६ बजे