महिला आन्दोलनको सुदृढीकरण विषयक दक्षिण एसियाली सम्मेलन सम्पन्न

​​​​​​​काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) को आयोजनामा काठमाडौंमा भएको  ‘महिला आन्दोलनको सुदृढीकरण विषयक’ दक्षिण एसियाली सम्मेलन शुक्रबार सम्पन्न भएको छ।  

दक्षिण एसियाली मुलुकहरूमा महिलाको अवस्था र महिला आन्दोलनको सुदृढीकरणका लागि छलफल गर्ने उद्देश्यले अनेमसंघले आफ्नो सातौँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा सेमिनारको आयोजना गरेको हो। कार्यक्रममा नेपालका साथै भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाबाट प्रतिनिधि आउनुभएको थियो ।  

सम्मेलनमा बोल्नुहुँदै अनेमसंघकी इन्चार्ज सीता पौडेलले नेपालको महिला आन्दोलनलाई फेरि संगठित र सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनेमसंघकी अध्यक्ष थममाया थापाले अनेमसंघले महिला आन्दोलनलाई पुनर् भाषित गरेर नयाँ खालको आन्दोलन गर्नुपर्ने भन्दै त्यसको नेतत्व लिन आफूहरू तयार रहेको बताउनुभयो । 

कार्यक्रममा  अनेमसंघका पूर्व अध्यक्ष शान्ता मानवीले अहिले प्रदेश र संघीय संसदमा एकतिहाइ र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला सहभागिता हुनु ठूलो उपलब्धि भएपनि  समानताको लक्ष्यमा पुग्न अझै आन्दोलन जरुरी रहेको बताउँउनुभयो । 

 अनेमसंघकी सचिव सुजिता शाक्यले दक्षिण एसियाकै महिला आन्दोलनलाई पितृसत्ता र पुँजीवादले धक्का दिएको भन्दै त्यसविरुद्ध लड्नका लागि एकताबद्व हुन जरुरी रहेको बताउनुभयो । 

सम्मेलनमा भारतकी प्रतिनिधि डा. रती रावले भारत, नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूको महिलाको अवस्था लगभग उस्तै भएकाले दक्षिण एसियाली महिला आन्दोलनबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

महिलाहरू अघि बढ्नका लागि संरचनात्मक अवरोधहरू भएकाले त्यसलाई हटाउनुपर्ने उहाँको भनाइ थियो। पाकिस्तानबाट आउनुभएकी डा. अलिया हैदरले पाकिस्तानमा राजनीतिक सहभागिताका साथै महिलाको स्वास्थ्य, जलवायु परिवर्तनले महिलामा पारेको असर लगायतका विषयमा काम गरिरहेको बताउनुभयो । 

सेमिनारका लागि बंगलादेशकी प्रतिनिधि जिनत फातेमा, श्रीलंकाबाट आएकी नलिनी रत्नराझले पनि आफ्नो देशको महिलाको अवस्था बताउँदै दक्षिण एसियाको महिला आन्दोलन एक हुनुपर्ने बताउनुभयो।

सेमिनार बाेल्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की उपाध्यक्ष आङदावा शेर्पाले महिला आन्दोलनको सुदृढीकरणका लागि वामपन्थी पार्टीका महिलाहरू एक हुनुपर्ने भन्दै अनेमसंघले सुरु गरेको अभियानमा एकता र प्रतिबद्धता रहेको प्रष्टाउनुभयो । 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ०० बजे