दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

दोधारा चाँदनी । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । 

टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदीश जोशी, डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना सहभागी थिए । अस्पतालले डायलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ ।  

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । 

अस्पतालले आजदेखि परीक्षणका रूपमा डायलासिस सेवा थाल्ने तयारी गरेको छ ।  

यसअघि बजेट अभाव तथा स्वास्थ्य सेवा विभागले अनुमति नदिँदा डायलासिस सेवा सञ्चालन हुन सकेको थिएन । “अनुमति पाउन मात्रै बाँकी थियो”, उहाँले भन्नुभयो, “तत्काल दुई सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी छ ।”

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँदले आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा दिने तयारी भइरहेको बताउनुभयो । सङ्घीय सरकारबाट आएको बजेट कटौतीका कारण सेवा दिन ढिलाइ भएको उहाँको भनाइ छ । अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता  छ । 

“धनगढीस्थित सेती अस्पतालमा मात्रै डायलासिस सेवा छ, तर बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा अर्जुन भट्टले भन्नुभयो । हाल कञ्चनपुरबाट एक सयभन्दा बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढी तथा सीमावर्ती भारतीय अस्पताल जाने गरेका छन् ।  रासस

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : २५ बजे