चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार (भिडियो )

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते हुनुभएको थियो । उहाँसँगै गम्भीर घाइते हुनुभएकी उहाँकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सुरुमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उहाँलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिनुभयो। उहाँको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उहाँले जानकारी दिनुभयो । कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताउनुभयो ।

दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरु गरिएको छ। दिनमा तीन र चार पटक हिँडाउन थालिएको र उहाँ अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिनुभयो।

भिडियो माधव न्यौपानेको फेसबुकबाट 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ११ बजे