दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक

काठमाडौँ । नेपालमा पहिलो पटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ ।

चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी सङ्क्रामक छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताउनुभयो । 

भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उहाँको भनाइ छ । “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै सङ्क्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उहाँले भन्नुभयो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउनुहुन्छ । “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उहाँले भन्नुभयो, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।” उहाँले छिटो फैलिने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । 

नयाँ भेरियन्टबाट सङ्क्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उहाँको भनाइ छ । 

नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६  सङ्क्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : १३ बजे