साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कागेश्वरी मनोहरामा मृत्युपश्चात् ४२ जनाको अङ्ग दान घोषणा

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात् अङ्ग दान घोषणा गरेका छन् । 

थलीमा भएको कार्यक्रममा मृत्युपश्चात् पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात् अङ्ग र २३ जनाले आँखा दान दिने भएका हुन् ।

नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा “स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात् अङ्ग दान घोषणा’ कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापासमेत ४२ जनाले मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गर्नुभयो । 

नगरप्रमुख कार्कीले मृत्युपश्चात् आफ्नो शरीरका विभिन्न अङ्ग काम लागेमा दान गर्दा पुण्यको काम हुने बताउनुभयो । आफूले धर्ती छाडे पनि आफ्ना विभिन्न अङ्गले अन्य बिमारी मानिसको स्वास्थ्य बचाउन सकिन्छ भने अङ्ग दान महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । 

नगरप्रमुख कार्कीले भन्नुभयो, “नेपाली समाजमा मृत्युपश्चात् जलाउने र गाड्ने खालको परम्परा रहेको छ । अग्निदाह गर्नु पूर्व अङ्ग दान गर्न आवश्यक रहेछ । मैले पनि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरेँ, तपाईँहरू पनि मृत्युपश्चात् अङ्ग दान गर्नुहोस् । हामीले दान गरेको अङ्गबाट धेरै नेपालीले अकालमा ज्यान गुमाउने समस्याको मुक्ति पाउनेछन् ।”

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै राष्ट्रिय रूपमा अभियान चलाउने प्रतिबद्धता जनाउनुभयो । 

निर्देशक श्रेष्ठले मृत्यु भएको एक जनाको शरीरबाट हाल नेपालमा दुई मिर्गौला, दुई फोक्सो, कलेजो, मुटु, प्यानक्रियाज, सानो आन्द्रा गरी कूल आठ अङ्ग दान गर्न मिल्ने जानकारी दिनुभयो । उहाँले एक जनाको मृत शरीरबाट आठ जनासम्मको ज्यान बचाउन सकिने भएका कारण मृत्युपश्चात् सबैलाई अङ्ग दान घोषणा गर्न अनुरोध गर्नुभयो ।

निर्देशक श्रेष्ठले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तारकेश्वर नगरपालिका र धुलिखेल नगरपालिकासँग सहकार्य गरिसकेको भन्दै आज कागेश्वरी मनोहरा नगरपालिकासँग पनि सहकार्य गर्न पाउँदा खुसी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा देशभरिका स्थानीय तहसँग सहकार्य गर्ने तयारी गरेको जनाउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा सभापति श्यामकाजी डोटेलले रक्तदान जीवनदान भन्दै रगत दान दिने व्यक्तिहरू धेरै रहनुभएको बताउनुभयो । उहाँले रेडक्रस सोसाइटीको रक्तदान कार्यक्रम जनतामा प्रभावकारी बनेको धारणा राख्नुभयो ।

जिल्ला सभापति डोटेलले रगत दान मात्र नभएर हाल रेडक्रस सोसाइटीले आँखा दान केन्द्र सुर्खेत र जनकपुरमा रेडक्रसले आँखा दान केन्द्र सञ्चालनमा ल्याउन सफल भएको जनाउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा सभापति वासुदेव पौडेलले यस शाखाले विगतमा नगरभित्रका स्थानीयवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले मृत्यु भएपश्चात् अङ्ग दान गर्नु सबैका लागि राम्रो, सकारात्मक र धार्मिक कार्य भएकाले यसमा सहभागी हुन आग्रह गर्नुभयो ।रासस

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ५८ बजे