साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मिसन ग्रासरुट अभियान: एमालेमा अद्वितीय रक्तसञ्चार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सङ्गठन सुदृढीकरण र विस्तार गर्न दुई महिने ‘मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ । फागुन ५ गतेदेखि औपचारिक रूपमा सुरु भएको यो अभियान देशका ७५३ पालिकामा घनिभूत ढङ्गले सञ्चालन भइरहेको छ । शक्ति केन्द्रहरूको इशारामा एमालेलाई एक्लाउन केन्द्रमा ठुलै कसरत भइरहेको बेला पार्टीको विचार, भिजन र सङ्गठन तृणमूल तहसम्म पुर्‍याउन एमालेले आफ्नो पार्टी इतिहासमै सबभन्दा ठुलो अभियान सुरु गरेको हो ।

वैचारिक हिसाबले नेकपा(एमाले) देशकै अब्बल पार्टी हो । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढिरहेको एमालेलाई विचारमा कुनै द्विविधा छैन । कम्युनिष्ट पार्टीले कसरी सत्ता प्राप्त गर्ने, कसरी सञ्चालन गर्ने र समाजवादी गन्तव्य कसरी तय गर्ने भन्ने विषय एमालेले सुविचारित ढङ्गले तय गरिसकेको छ । समाजको आम लोकतान्त्रिकीकरण गर्ने, राष्ट्रिय पुँजीको अधिकतम विकास गर्ने, बहुआयामिक समृद्धि हासिल गर्दै समाजवादको गन्तव्य तय गर्ने एमालेको सुष्पष्ट नीति छ । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादले त्यो मार्ग निर्देशन गरेको छ । विगत तीन दशकमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन, प्रतिक्रियावादी एवम् प्रतिक्रान्तिकारी हमलाबाट कम्युनिष्ट आन्दोलनको रक्षा गर्न, एमाले पार्टीलाई जनताको बीचमा लोकप्रिय र सुदृढ जनाधारसहित स्थापित गर्न एवम् वैधानिक ढङ्गबाट आन्दोलनलाई अगाडि बढाउन जबजको ठुलो भूमिका रहेको छ ।

पार्टीलाई तृणमूल तहका जनतासँग जोड्ने स्थानीय कमिटीको सबलीकरण नभई जनताको बहुदलीय जनवादी राज्यसत्ताको स्थापना, सञ्चालन र विकास हुने ग्यारेन्टी गर्न सकिँदैन । पालिका स्तरका कमिटीहरू (कतिपय जिल्ला कमिटीसमेत)को वैचारिक स्तर, साङ्गठनिक कार्यकुशलता र व्यवस्थापकीय क्षमता निकै कमजोर अवस्थामा रहेको थियो । वडा र टोल कमिटी त धेरै ठाउँमा कागजी कमिटीको रूपमा मात्र सीमित थिए । एमाले जनताको हित गर्ने पार्टी हो भन्ने विश्वास ती तहका कार्यकर्तामा मनग्य पाइए पनि पार्टीले अङ्गीकार गरेको विचारको आधारभूत पक्षबारे समेत अनभिज्ञता व्याप्त थियो । सङ्गठनको आवश्यकता, सङ्गठित सदस्यको अधिकार र कर्तव्य तथा भूमिकाबारेमा उनीहरूलाई धेरै प्रशिक्षित गर्नुपर्ने आवश्यकता थियो ।

एमाले–माओवादी एकता भएको अवधिमा भएको साङ्गठनिक र व्यवस्थापकीय भद्रगोललाई एमालेको स्मार्ट साङ्गठनिक व्यवस्थापनमा फर्काउनु ढिला भइसकेको थियो । साथै प्रक्रिया पुर्‍याएर, प्रशिक्षित गरेर नयाँ आवेदक सङ्गठित सदस्यलाई पार्टी काममा जुटाउने नियमित वैधानिक कामसमेत स्थानीय तथा सङ्घ–प्रदेशको चुनावको कारण सुचारु भएको अवस्था थिएन ।

एमालेभित्र अहिले कुनै वैचारिक भिन्नता छैन, गुट सङ्घर्ष छैन । तर स्थानीय तहमा जनप्रतिनिधि र पार्टी कमिटीबीच, चुनाव लड्ने र नलड्ने नेता–नेता र कार्यकर्ताबीच, अवसर पाएका र नपाएका कार्यकर्ताबीच रहेका अन्तर्विरोधका कारण कतिपय पालिकामा पार्टी कामले गति लिन सकेको थिएन । टिकट पाएकाले सर्वस्व जितेजस्तो, नपाएकाले सर्वस्व हारेजस्तो सोच विकास भएको थियो ।

भन्न परोइन, एमाले जनतामा आधारित कार्यकर्ता पार्टी हो । केन्द्रदेखि तृणमूल तहसम्म कमिटी प्रणालीमा चल्ने पार्टी हो । कमिटी प्रणालीमा देखिने समस्याको वस्तुनिष्ठ समाधान गरेर मात्र पार्टीको अग्र गति सुनिश्चित गर्न सकिन्छ ।

आधारभूत तहका जनताले भोगिरहेका समस्याको पहिचान गरेर तिनको समाधान गरिदिने वा समाधानको लागि सम्बन्धित निकायमा दबाब दिने अग्रसरता एमालेले गर्दै आएको छ । जनताको घरदैलोमा गएर उनीहरूले भोगिरहेका समस्याको पहिचान र तिनको समाधान एमालेले बाहेक कोही गर्न चाहँदैनन् । अरूलाई त कुर्सीको भागबन्डाको काम नै भ्याइ नभ्याई छ ।

पार्टीलाई चुस्त दुरुस्त राख्न एमालेले चलाएको मिसन ग्रास रुट अभियान अत्यन्त प्रभावकारी ढङ्गले टोल टोलमा पुगेको छ । केन्द्रदेखि पालिका स्तर सम्मका हजारौँ नेता–कार्यकर्ता पार्टी स्पिरिटसहित पार्टी निर्माणमा खटेको यो मेगा इभेन्ट हो । यसले एमालेभित्र र बाहिर सकारात्मक तरङ्ग ल्याएको छ । एमालेलाई घेराबन्दी गरेर सिध्याउन उद्धत प्रतिक्रियावादी शक्तिलाई मिसन ग्रासरुट अभियानले निराश बनाएको छ ।

यो छोटो अवधिमा विगतमा विभिन्न कारणले पार्टी बाहिर पुगेका एमाले पङ्क्तिलाई समेत पार्टीमा फर्काउने सफलता मिलेको छ । कतिपय क्षेत्रमा त गत चुनावमा नचलेका व्यक्ति, कमिटी र जनसङ्गठन यो अभियानमा सक्रिय भएका छन् ।

जनताको यो तहसम्म पार्टीको विचार, सिद्धान्त र सङ्गठन यस अघि कहिल्यै पुगेको थिएन । पार्टी प्रतिपक्षमा भएको बेला पार्टीप्रति जनताको यो पैमानाको भरोसा देखिनु सबै एमालेजनको लागि गौरवको कुरा हो ।

थोमस एल्वा एडिसन भन्दथे–महानता एक प्रतिशत प्रेरणा र उनान्सय प्रतिशत पसिनाबाट प्राप्त हुन्छ । एमालेलाई प्रमुख राष्ट्रिय शक्ति बनाउनका लागि एमालेजनले बगाएको पसिनाले निःसन्देह युगिन महत्त्व राख्ने छ ।

यो अभियानले एमालेलाई गम्भीर शिक्षा दिएको छ । त्यो हो–  पार्टी निर्माण र सञ्चालनमा नेता कार्यकर्ताको जति बढी योजनाबद्ध व्यस्तता, उति नै सफलता ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ०५ बजे