प्रधानमन्त्री दाहाललाई भेटर पीडितले भने : ‘मिटर ब्याजबाट मुक्त गरिदिनुस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटर ब्याज पीडितले आज भेट गरेका छन् । 

बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटर ब्याजबाट मुक्त गर्न आग्रह गर्नुभएको थियो । उनीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटर ब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरूसँग गृह मन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ । अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने लगायतका माग भने गृह मन्त्रालयले सम्बोधन गरिसकेको छ । 

शुक्रवार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटर ब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिनुभएको थियो । 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ११ : ४२ बजे