आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । त्यसका लागि दिउँसो ३ः०० बजेभित्र दलहरूलाई मन्त्री बन्नेहरूको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथ ग्रहण आजका लागि तय गरिएको हो । 

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्री प्रचण्डको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार आजका लागि सारिएको सचिवालयले जनाएको छ । 

गठबन्धनको बैठक चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रममा सहभागी हुन उता जानुभएको थियो भने यता दलहरूको पनि आन्तरिक तयारी पूरा भएको थिएन । यी दुवै कारणले बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन नसकेको सचिवालयले जनाएको छ ।

पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ वटा मन्त्रालय आफैँ चलाइरहनुभएको छ ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ५० बजे