रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

​​​​​​​काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेस गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ। 

उम्मेदवारीका लागि दाबी पेस गरिएकाहरूमा तनहुँ १ बाट डा.स्वर्णिम वाग्लेसहित तीन जना छन्। त्यहाँ ईश्वर लामिछाने र डा.रूपक विक घिमिरेले दाबी पेस गरेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकाङ्क्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुङ्गो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले भोट हाल्छन् ।

यदि, सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहिँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : १८ बजे