प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष विहीन हुन पुगेको छ ।

मन्त्रालयको सङ्ख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको हो । 

प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि पुनः बैठक बसी मन्त्रालयको सङ्ख्या र मन्त्रालय भागबन्डा हुने जनाइएको छ । यद्यपि, प्रधानमन्त्री दाहालले भागबन्डा अनुसारको मन्त्रीहरूको नाम दिनका लागि अनुरोध गर्नुभएको छ।  

प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलान्यासका लागि अहिले चितवन जानुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।चितवनबाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुङ्गाइनेछ । 

प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरूको शपथ खुवाउने तयारीमा हुनुहुन्छ।  

बालुवाटारमा बुधवार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताइसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली काँग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : ११ बजे