मन्त्रालयको भागबन्डा टुङ्ग्याउन सत्तारुढ दलको निर्णायक बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । 

आज शपथ गराउने तयारीका साथ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो । सो गठबन्धनको बैठकको निर्णयपछि आजै नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुनेछ । 

बालुवाटारमा बुधवार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताइसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली काँग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

तर, नेकपा एसले तीन मन्त्रालयमा दाबी गरेको तथा राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डा नपाएको मात्रै होइन, कुन पार्टीले कुन कुन मन्त्रालय पाउने भन्नेमा निर्णयमा नपुगेपछि आज बिहान पुनः सत्तारुढ गठबन्धनको बैठक बसेको हो । 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : २६ बजे