यस्तो छ आजको विनिमय दर

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

​​​​​​​काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।

रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा(माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राई लगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । 

श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहीन बनाइएको राईले गुनासो गर्नुभएको छ । राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौँमार्फत साउदी अरेबियाको नास म्यानपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरू मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेबरका रूपमा नास म्यानपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् । 

हाल होटल किचन वर्करका रूपमा काम लगाइएका उनीहरूको सामान्य: खाने र बस्ने व्यवस्था भने नास म्यानपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा म्यानपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् । 

‘म्यानपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देऊ भनेर कुरा राख्दा नेपालको म्यानपावरसँग कुरा गर भन्छ,’ राईले भन्नुभयो, ‘म्यानपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बङ्गुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’ 

काम र दाम विहीन बनाइएका १०र१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौँ युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतीक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि वैदेशिक रोजगार विभागमा पुग्दा म्यानपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताउनुभयो । 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ०५ बजे