मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीहरूले आजै शपथ लिने

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको विस्तार गर्नुहुने भएको छ ।

 बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज दाहाल नेतृत्वको सरकार विस्तार हुन लागेको हो । जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुङ्गो लागेको जनाउँदै आज अपराह्न शपथ ग्रहण गराउने गरी भागबन्डा टुङ्गिएको हो ।  

बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धनको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताउनुभएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली काँग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ । 

सो सहमति पछि दाहाल नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउनका लागि नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई दाहाल नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीन वटा मन्त्रालय पाउनुपर्ने जनाउँदै तीन वटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन् ।

उता, दाहाल नेतृत्वको सरकारमा सहभागितालाई लिएर अन्य राजनीतिक दलले भने आज नै निर्णय लिने गरी बैठक बोलाएका छन् ।

नयाँ मन्त्रिमण्डल बिस्तार भएसँगै आजै नयाँ मन्त्रीहरूको शपथ हुने बताइएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : ३२ बजे