सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आगमी वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनको लागि दल दर्ता गर्ने समय आइतबार सकिँदैछ । निर्वाचन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नु पर्दछ ।

आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यसैगरी, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने छ ।

यसअघि रवि लामिछानेले जितेको चितवन –२, रामचन्द्र पौडेलले जितेको तनहुँ १ र रामसहायप्रसाद यादवले जितेको बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : १९ बजे