साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगरपालिका

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियानअन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीच भागमा वृक्षारोपण गर्नुका साथै तार जालीसमेत लगाएको छ । 

छ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहानगरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ ।

“छ लेन सडकमा वृक्षारोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ”, धनगढी उपमहानगरका इन्जिनियर उपेन्द्र भट्टले भन्नुभयो । “यसमा जावलाखेल ग्रुप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।” सूर्य नेपालले एयरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इन्जिनियर भट्टले जानकारी दिनुभयो ।

छ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरुवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षारोपण गरिएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षारोपण अति नै आवश्यक रहेको उहाँको भनाइ छ । “स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ”, उहाँले भन्नुभयो । “त्यसले गर्दा उपमहानगरले वार्षिक दुई हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।”  अझ छ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगरप्रमुख हमालले बताउनुभयो । छ लेन मात्र होइन निर्माणाधीन अवस्थामा रहेका सहिदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोकलगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उहाँले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताउनुभयो । “स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ”, उहाँले भन्नुभयो । “बिरुवा चोरी हुनेदेखि गाईबस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।” वृक्षारोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताउनुभयो । “धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ”, उहाँले भन्नुभयो, “धनगढी प्रदेश मुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।” उहाँले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियाली मात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मङ्सिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् । रासस

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ९ : ५४ बजे