राष्ट्रपति भवनमा घटस्थापना

दशतिर फर्केकाहरूबाट देशमा आर्थिक सङ्कट: अध्यक्ष ओली 

कपिलवस्तु । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दशतिर फर्किएकाहरूले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको बताउनुभएको छ । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नेकपा (एमाले)को सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक सङ्कटका कारण रोकिएको बताउनुभयो । 

नेकपा(एमाले)ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान अन्तर्गत कपिलवस्तुमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नेकपा (एमाले)ले थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन ५१ प्रतिशत निर्वाचित हुनुपर्ने बताउनुभयो । 

उहाँले एमाले समृद्ध र सम्पन्न समाज बनाउने अभियानमा रहेकाले यति बेला वैचारिक र सङ्गठनात्मक रूपमा देशलाई गरिबीतर्फ धकेल्नेहरूसँग लडिरहेको बताउनुभयो । 

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी मार्ग, रेलवे, उपल्लो तामाकोसी, मेलम्ची खानेपानी, तुइन विस्थापन गर्ने जस्ता महत्त्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्‍याइएको स्मरण गर्नुभयो । 

उहाँले आफूहरूको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून गरिएको पनि बताउनुभयो । उहाँले नागरिकलाई समान अधिकार, सामाजिक न्यायसहितको समानता चाहेको बताउनुहुँदै समाजलाई सदाचारयुक्त, सुशासनयुक्त समाज निर्माण, देशको स्वाधीनता, स्वतन्त्रता, नेपाली भूमिको रक्षा, देशको स्वाभिमान र गौरव बढाउन, बलियो राष्ट्र बनाउन नेकपा(एमाले)को बलियो सङ्गठन आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमुनायोग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । मिसन ग्रासरुटले युवा पुस्तालाई नेतृत्व स्थापित समेत गराउने उहाँले बताउनुभयो ।  

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ०२ बजे