राष्ट्रपति भवनमा घटस्थापना

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । 

सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०/५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिक मन्दीका कारण हुनसक्छ”, गुरुङले भन्नुभयो । 

कोरोना सङ्क्रमणपछि विगतमा आएकोझैँ पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुरमुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झैँ पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । 

हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भन्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउँछन् । मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । 

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ ।रासस

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : २५ बजे