राष्ट्रपति भवनमा घटस्थापना

बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौँ  । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

नेकपा(एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । 

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली काँग्रेस सरकारमा सहभागी हुने बताइएको छ । 

गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र)का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए । 

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । 

गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेस सहभागी नभएपछि उक्त दिन अबेर विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो । 

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले विश्वासको मत लिन लागेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । 

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दोस्रो ठुलो दल नेकपा ९एमाले० सहित नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी पाँच दलका ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल नेतृत्वको सरकारलाई गत माघ ३ गते ठुलो दल काँग्रेसले समेत विश्वासको मत दिएको थियो । 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : ११ बजे