माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दुई महिना बित्यो । बितेका दुई महिनामा सरकारको समीकरण पनि फेरियो । देशमा निर्वाचनबाट नयाँ सरकार निर्माण भएको न जनताले नत राज्यले नै अनुभूत गर्न पायो । ओरालो लागेको देशको अर्थतन्त्र,झन् तीव्र वेगका साथ ओरालो लाग्दै छ । मंहगी र बजार भाउले आकाश छोएको छ । व्यवसायीहरू आ–आफ्नो व्यवसाय छोडेर बैकको चर्को व्याजको विरोधको आन्दोलनमा छन् । यसबीच सरकार भने गतिहीन अवस्थाबाट गुज्रिएको छ । ओथारा बसेको कुखुराले अण्डा छोपे झैँ दाहालले प्रधानमन्त्रीको पद छोपेर मात्रै बसेका छन् । सरकारले काम गरेको छैन । र,यो सरकारसँग काम गर्ने जोश जाँगर पनि छैन ।
सरकार गतिहीन भएकै कारण अनियमितता र भ्रष्टाचारले मुलुकलाई छोपेको छ । प्रधानमन्त्री दाहालको सम्पूर्ण ध्यान कसरी आफ्नो पद सुरक्षित हुन्छ भन्नेमा मात्रै केन्द्रित भएको देखिन्छ । त्यसो त , पक्कै पनि यो दुई महिना उनको कार्यकालको मूल्याङ्कन गर्ने समय होइन । तर,यसबीच घटेका राजनीतिक घट्नाक्रमहरु भने मुलुकलाई उँभो होइन, उँधो लान थालेका छन् । र, मुलुक दाहालकै कारण अस्थिर राजनीतिको खेल मैदान बन्न पुगेको छ । देश भाडमा गए जाओस्, तर आफूले भने चाहेको पद पाउनु पर्छ भन्ने मान्यताका साथ उनी वाह्रय शक्तिको डिजाइनमा चलेका छन् । त्यसैले उनले विना कुनै राजनीतिक कारण एमालेसँगको समीकरण तोडेका हुन् ।
संसद्मा दोस्रो ठूलो दलका रूपमा रहेको एमालेको समर्थनबाट प्रधानमन्त्री भएका दाहाल अहिले कांग्रेसको कित्तामा पुगेका छन् । उनले जनतालाई यति छिट्टै राजनीतिक समीकरण फेर्नु पर्ने स्पष्ट कारण बताउन सकिराखेका छैनन् । के उनले एमालेको साथ छोडेर काँग्रेससँग सहकार्य गर्नु परेको कारण नेपाली जनतालाई वताउँनु पर्दैन ? यसबीच के बाध्यता आयो आइलाग्यो र उनले एमालेसँगको सम्बन्धमा ब्रेक अप गर्नु प¥यो ? कि मुलुकको राजनीतिक बजारमा चर्चा चले झैँ दाहाल कुनै शक्तिकेन्द्रको निमित्त पात्र मात्रै हुन ? माओवादी पार्टीको पर्दा पछाडि बसेर राजनीतिक स्टेरिङ चलाउने कि अरु कोही नै छन् ? जसले यो देशलाई अस्थिर राजनीतिको खेल मैदान बनाउन मात्रै चाहिरहेका छन् । के दाहाल तीनै पर्दा पछाडिका अदृश्य शक्तिकेन्द्रको गोटी मात्र हुन ? होइन, भने एमालेसँगको सहकार्य तोड्नाको स्पष्ट राजनीतिक कारण के हो त उनले जवाफ दिनु पर्दैन ?
त्यसो त दाहालले तेस्रो कार्यकाल प्रधानमन्त्री हुने ठूलो रहर गरेका थिए । उनलाई दुई महिना अघि देउवाले प्रधानमन्त्री हुन दिएनन् । त्यति बेला बिहानै, बेलुकै बालुवाटार धाएर देउवासँग ज्यू हजुरी गर्दा पनि देउवाले वास्ता–व्यस्ता गरेनन् । अर्थात् फेरी पनि आफै प्रधानमन्त्री हुन खुट्टा उचालेर बसेका देउवाले वाल दिएनन् । प्रधानमन्त्री पद माग्न देउवाको दैलोमा उनी पटक–पटक हाजिरी हुँदा त्यति बेला उनी देउवासँग कति अपमानित हुनु प¥यो त्यो उनले नै जानै कुरा भयो । प्रधानमन्त्री बन्ने कुण्ठित रहरका साथ भारी मन लिएर देउवाको दैलोबाट फर्किएका उनलाई बालकोटले उद्धार ग¥यो । अर्थात् उनको प्रधानमन्त्री बन्ने रहर बालकोटले नै पुरा ग¥यो । र, उनी तेस्रो पटक प्रधानमन्त्री भए ।
सांसदमा तेस्रो शक्तिका रूपमा रहेका दाहाल तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका हुन । दाहालले नेतृत्व गरेको माओवादी पार्टी आरोलो लाग्दा पनि दाहालले भने आफूले चाहेको पद पाएका छन् । उनको अभीष्ट निर्वाचनपछि जसरी पनि प्रधानमन्त्री बन्ने थियो, त्यो पूरा भयो । उनले नेतृत्व गरेको पार्टीले पत्याउने नसक्ने जनाधार गुमाएको भए पनि उनी भने प्रधानमन्त्री बन्न पुगे । अर्थात् उनले जे चाहेका थिए, त्यो पाए । जहाँ र जता लाग्दा आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थ पूरा हुन्छ, त्यतैतिर पार्टीलाई उनले डोराउँदै लगेका कारण उनको पार्टीले ओरालो यात्राको बाटो समाएको छ । अर्थात् माओवादीले जनाधार गुमाउँदै गएको छ । जता –जता आफ्नो स्वार्थको रोटी पाक्छ, त्यतै–त्यतै उनले कुम हल्लाउँदै लस्किएका कारण माओवादीको सांसदमा उपस्थिति दयनीय बन्न पुगेको छ ।
दाहालको अस्थिर चरित्र र स्वभावका कारण माओवादी अर्को पल्टको निर्वाचनमा सिला खोज्नु पर्ने अवस्था पुग्ने सङ्केत देखिएको छ । आफ्नो व्यक्तिगत लाभ हुन्छ भने जता पनि फर्किने उनको स्वभावका कारण माओवादी पार्टी प्रति आम मानिसको रुचि हराउँदै गएको छ । पदका लागि जे र जस्तो सुकै रूप धारणा गर्न सक्ने दाहालको कार्यशैलीका कारण मुलुकको राजनीति नै विकृत बन्न पुगेको छ । देश अस्थिर राजनीतिको गर्ततिर उनकै कारण धकेलिरहेको छ । तर, दाहाललाई यसमा कुनै चिन्ता र चासो पटकै छैन ।
कहिले कांग्रेस–कहिले एमालेलाई बोक्दै आफ्नो पद सुरक्षित गर्ने आफूलाई उनले एक नम्बरको राजनीतिक खेलाडी ठाने पनि उनको पार्टीले भने राजनीतिक नोक्सानी व्यहोर्दै आउनु परेको छ । ओलीको फन्दामा पर्ने डरले आफूले एमालेको साथ छोड्नु परेको कथन उनले व्यक्त गर्दै आएका छन्। के अब कांग्रेसले उनलाई सजिलै छाड्ला र ? ३२ सिटे दाहाललाई प्रधानमन्त्रीमा ढलिमली गराएर कांग्रेस लामो यात्रासम्म चुप लागेर बस्ला र ? कांग्रेस उनलाई प्रधानमन्त्री बनाएर चुपचाप बस्छ भन्ने उनले सोचेका छन् भन्ने त्यो उनको दिवा सपना मात्रै हो । सत्ताविना क्षणभर अड्न नसक्ने कांग्रेस प्रधानमन्त्री दाहाललाई बनाएर लामो सहयात्रामा हिँड्ला भनेर सोच्नु नै कल्पना भन्दाको बाहिरको कुरा हो । हो, अहिले केही कांग्रेसीहरुले उनलाई क्रान्तिको नायक जस्तो पनि बनाएका छन् । तर, तीनै कांग्रेसले ऐन मौकामा समय आउँदा उनलाई रछ्यानमा फाल्ने छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसँगै उनको दिन गन्ती सुरु भैसकेको छ । अब हुने सरकार विस्तारबाट सत्ताको भागबन्डामा देखिने विग्रहले छिटो भन्दा छिटो दश दलीय गठबन्धनमा सङ्कट आउने निश्चित छ । यो सँगै प्रधानमन्त्री दाहालको दिन गिन्ती सुरु हुने भएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार २ : ४८ बजे
प्रतिक्रिया