राष्ट्रपति भवनमा घटस्थापना

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । 

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । 

संविधान जारी भएपछि प्रधानमन्त्रीले पहिलो पटक एकै कार्यकालमा दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको यो पहिलो घटना हो । 

विश्वासको मतमा प्रधानमन्त्री दाहाललाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन्, आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको सङ्ख्या ११ पुगेको छ ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ । 

यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः यी दल विपक्षमा रहने छन् ।

संविधानको धारा १०० (२)मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका दाहालले यसअघि २६ पुसमा संसद्को विश्वास लिनुभएको थियो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ४७ बजे