साफ यू–१७ च्याम्पियनसिप आजदेखि

  मिसन ग्रासरुट अभियान चुनौती र सम्भावना

नेकपा एमालेले फागुन ५ गतेदेखि सुरु गरेको मिसन ग्रासरुट अभियान पार्टी स्थापना दिवसको दिन अर्थात् वैशाख ९ गते २२ अप्रिलका दिन विशेष समारोहका साथ सम्पन्न हुनेछ । 

देश बनाउने पार्टी नेकपा एमाले मात्रै हो भनेर एमाले एमालेले दाबी गरिरहेको र ६ प्रदेश तथा सङ्घीय निर्वाचनमा र ४४ जिल्लामा पहिलो पार्टी भएको सन्दर्भमा नेकपा एमालेलाई किन चाहियो मिसन ग्रासरुट ? प्रश्न उठ्नु स्वाभाविक हो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने पार्टी एमाले हो, भनेर आफू नेतृत्वको सरकार भएको बेला गर्नुभएको योजनाबद्ध विकास निर्माणको कामले उहाँको भनाइलाई केही बल प्रदान गरेको छ । तर, यति मात्रैले नेकपा एमालेले अघि सारेको राष्ट्रिय आकाङ्क्षा समृद्ध नेपाल, सुखी नेपाली बन्न सक्दैन । यसका लागि अध्यक्ष ओलीले भनेजस्तै पार्टीको टोल कमिटीसम्म पनि लाग्नुपर्छ, जुट्नुपर्छ । अध्यक्ष ओलीले पहिलो पार्टी हुनुपर्छ भन्नुभयो, जनताले समानुपातिकतर्फ पहिलो मत दिए । त्यतिले सरकार बनाउन र देश बनाउने जनमत प्राप्त हुन सकेन । त्यस कारण एमालेले पार्टीको आधारभूत तहलाई बलियो र सक्षम बनाउँदै आगामी निर्वाचनमा कम्तीमा ५१ प्रतिशत मत हासिल गर्न मिसन ग्रासरुट अभियान ल्याएको छ । 

कार्यकर्ताहरू जनताको बीचबाट टाढिँदै गएकोले पार्टीमा आधारभूत तहका जनताको लगावमा कमी हुन थालेपछि एमालेले यस्तो कार्यक्रम ल्याएको हो । पार्टीका आधारभूत तह अर्थात् वडा कमिटी र टोल कमिटीले पार्टीलाई जस्तोसुकै राजनीतिक तरङ्गमा पनि बचाइराखेको कारण यो तहलाई मजबुत बनाउनुपर्ने एमालेको ठम्याई रहेको छ । त्यसै कारण अहिलेको मिसन ग्रासरुट अभियानमा पार्टीको आधारभूत तहमा नै पुगेर गर्नु पर्ने कामहरू रहेका छन् । अरू कार्यक्रमहरूमा केन्द्रीय सदस्यलाई जिल्ला र प्रदेश कमिटी सदस्यलाई पालिका दिने गरिएकोमा अहिले केन्द्रीय सदस्यलाई पालिका र प्रदेश कमिटीलाई वडा अनि जिल्ला कमिटीलाई टोल टोलमा कार्यक्षेत्र तोकिएको छ ।

एमालेभित्रका चुनौतीहरू
मिसन ग्रासरुट अभियानमा कुनै नयाँ कार्यक्रमहरू ल्याइएको छैन । पार्टीले गर्दै आएको कामहरू नै छन् । तर, नेतृत्व भने निरन्तर सञ्चालन भइरहेको कार्यक्रममा आधारभूत तहमा पुग्ने गरेको थिएन अब भने पुग्नै पर्ने भएको छ । पार्टीको सदस्यता नवीकरण, आधारभूत कमिटीको समस्या, संसदीय मोर्चामा निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध अनि पार्टी, जनताबीचको अन्तर सम्बन्ध विस्तार गर्ने, देशी विदेशी पुँजीवादी तथा कम्युनिष्ट विरोधी शक्तिहरूले अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि मिल्न नदिएर नेकपा एमालेलाई घेराबन्दी गरेको जस्ता विषयमा जनतालाई जागरूक गराउने मिसन ग्रासरुटले गर्नै पर्ने कामको रूपमा लिएको छ । 

नेकपा एमालेभित्र हुर्कँदै गरेको दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता विरुद्धको वैचारिक सङ्घर्ष, समाजवादका आधार निर्माण र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, विभिन्न राजनीतिक दलहरूसँग एमालेको राजनीतिक–वैचारिक भिन्नता, पार्टी निर्माण सम्बन्धी दृष्टिकोण र पार्टी सदस्यहरूको कार्यशैली र नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशाका सन्दर्भमा आधारभूत तहमा प्रशिक्षण प्रदान गर्ने यो मिसनको उद्देश्य रहेको छ ।
 
पार्टी कमिटीले समाजमा हुने गरेका विकृति र विसङ्गतिलाई जोडदार ढङ्गले उठाउन छोडेपछि एमाले भित्रको ऊर्जा खस्कँदै गएकोले त्यो स्थान खाली रहन गयो । राजनीतिमा कसैले खाली स्थान छोडेमा अन्य राजनीतिक दलहरूले लिने भएपछि एमालेले छोडेको खाली स्थानमा भरखरै उदाउँदै गरेका र सकिएर मौलाउँदै गएका दलहरू फेरि पनि जाग्न थालेपछि नेकपा एमालेका लागि यो चुनौतीको रूपमा खडा भएको छ । 

पार्टीको आधारभूत तहले गोडमेल गरेको राजनीतिक मैदानमा संसदीय मोर्चामा गएका र जानका लागि जे पनि गर्न खोज्नेहरुबीचको टसलले देशभरि पार्टीले क्षति बेहोर्नु परेकोलाई आधारभूत तहले गम्भीर ढङ्गले उठाउन थालेको छ । आधारभूत तहको भावनाको सम्बोधन एमालेले गर्नै पर्ने अवस्थाको महसुस गर्दै मिसन ग्रासरुट अभियान थालनी गरिएको हो । 

नेकपा एमालेभित्रको मपाईवाद हाबी नभएको भए स्थानीय तह र प्रदेश तथा सङ्घीय निर्वाचनमा एमालेको १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने थियो । त्यो प्रभावले थप ५ प्रतिशतलाई बल प्रदान गर्ने थियो । त्यस कारण पार्टी सुदृढीकरण र विस्तार अघि पार्टीभित्र शुद्धीकरणको पनि आवश्यकता रहेको छ । अहिले निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराएर बहादुरी देखाउनेहरूलाई पार्टीकै कुनै न कुनै नेतृत्व तहबाट संरक्षण गर्ने काम हुन थालेको छ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गरेर, निर्वाचित जनप्रतिनिधिको कार्य सम्पादन मूल्याङ्कन तथा निर्वाचनमा जनताले लगानी गर्ने र निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनै पर्ने स्थिति बनाउन पनि मिसन ग्रासरुट अभियान थालनी गरिएको हो । नेकपा एमालेसँग यो चुनौतीको रूपमा उभिएको छ । पुँजीवादी संरचनामा आधारभूत तहका मानिसहरू संसदीय मोर्चामा नपुग्ने हुँदा पेटी बुर्जुवा वर्गले मात्रै खर्च गर्न सक्ने र जित्ने नाममा उनीहरूलाई टिकट दिने हो भने त्यही वर्गले संसद् र पार्टी दुवै कब्जा गर्ने सम्भावना बलियो देखिन्छ । एमालेको लागि यो पनि बलियो चुनौतीको रूपमा खडा भएको छ । 

हो, यो अवस्थामा मिसन ग्रासरुटले पार्टी शुद्धीकरण, सुदृढीकरण र विस्तारको कार्यक्रम ल्याएको छ । एमालेले समाज रूपान्तरणका लागि गर्ने वर्ग सङ्घर्षको स्वरूपमा परिवर्तन गरेको छ । अबको वर्ग संर्घष भनेको निर्वाचन नै हो भनेर पार्टीले व्याख्या गरेको छ । हुन पनि हो, हिजो गाउँ गाउँमा जनताको वर्गीय समस्या समाधानका लागि गाउँ गाउँमै सङ्घर्ष गर्ने गरिन्थ्यो । तर, अब जनताको मत पाएर सत्तामा पुगेपछि जनताको वर्गीय समस्याहरू सरकारबाट नयाँ र जनमुखी कार्यक्रमहरू ल्याएर पूरा गरिने भएकाले निर्वाचनमा विजय हासिल गर्नु वर्ग सङ्घर्षमा सफलता पाउनु सरह भएको एमालेको ठम्याई छ । सत्तामा पार्टी पुग्नु व्यक्तिको व्यवस्थापन मात्रै होइन जनताको पक्षमा काम गर्ने अवसर पनि भएकाले चुनावमा आफ्नो निहित स्वार्थ सिद्ध गर्ने हेतुले जसरी पनि मैले टिकट पाउनुपर्छ र जसरी पनि मैले जित्नुपर्छ भन्ने अनि जितेर गएपछि पार्टीको निर्देशन समेत त्यागेर आफूखुसी व्यवहार गर्ने पुँजीवादी शैलीमा स्थानीय तहदेखि प्रदेश तथा सङ्घीय सांसद समेत लाग्ने गरेकाले यसलाई ‘करेक्सन’ गराउन एमालेलाई चुनौती नै देखिएको छ । पार्टीभित्र अन्तर्घात गर्नेहरू पार्टी पङ्क्तिबाटै विभिन्न तहबाट संरक्षण गर्ने शैलीलाई एमालेले चिर्न र कसुर गर्नेलाई सजाय दिने कार्य पनि एमालेभित्र चुनौतीको रूपमा खडा भएको छ ।

नेकपा एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाभित्रको अन्तरसंघर्ष अहिले ग्रासरुटसम्म पनि देखिन थालेको छ । २०७९मा भएको स्थानीय तहको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यसम्म पार्टीको उम्मेदवारविरुद्ध अन्तर्घात देशैभरि हेर्ने हो भने कहीँ न कहीँ नेकपाभित्रको अन्तरसंघर्षको अवशेषहरूले काम गरेको भान हुन्छ । यसलाई पार्टीका नेताहरूले वा कमिटीगत रूपमा मसिनो गरी विश्लेषण गर्न र त्यो विश्लेषणबाट आएको निष्कर्षलाई कार्यान्वयन गर्न जरुरी छ । हिजोको अवशेषहरूलाई भावनात्मक ढङ्गले अन्तरघुलन गराउने र अन्तरघुलन हुन नसके बिदा नगरेसम्म यसको पार्टी सुदृढ हुन सक्दैन । बरु हिजोका ती अवशेषहरूले केन्द्रमा केपी ओली जिन्दाबाद भन्ने स्थानीय तहमा नयाँ खाले गुट बनाएर पार्टीको आधारभूत तहलाई समेत क्षत विक्षत पार्ने स्थिति देखिएको छ । यस्ता बेथिति नियन्त्रण गर्ने कार्य अध्यक्ष वा महासचिवको तहबाटै गरिनुपर्ने हुन्छ । 

मिसन ग्रासरुटले ल्याउने सम्भावना 
मिसन ग्रासरुट अभियान अब अर्को निर्वाचनसम्म यसै समयमा हरेक वर्ष गरिनुपर्दछ । यस वर्ष गर्ने नसकेको काम अर्को वर्ष कति गरियो ? यस वर्ष पार्टीको जिल्ला, प्रदेश र केन्द्रमा गएको सुझावलाई कति कार्यान्वयन गरियो ? आधारभूत वर्गलाई बलियो बनाउने काम कति भयो ? यस्ता धेरै कामको मूल्याङ्कन गर्न जरुरी छ । यस वर्ष भएका केही भए पनि गरिएका उत्कृष्ट कामबाट जनतामा पारेको प्रभावले अर्को वर्ष जनतामा उत्प्रेरणा जगाउने छ । त्यसपछि मात्रै अघिल्लो वर्ष मिसन ग्रासरुटमा सहभागी हुन नपाएका वा छुटेका मतदाता वा पार्टीका कार्यकर्ता पछिल्लो अभियानमा सहभागी हुनेछन् । अनि मात्रै यो मिसन सफलतातिर उन्मुख भएको देखिन्छ । यस पटक त कार्यकर्ताको आधारभूत तहको गुनासाहरू मात्रै सुन्ने हो त्यो गुनासालाई समाधानतिर लैजाने हो त्यसपछि मात्रै उसलाई पनि उत्साहित गराएर महाअभियानमा दौडाउनुपर्दछ । यसो भयो भने अर्को निर्वाचनसम्म आइपुग्दा नेकपा एमालेले भनेजस्तो ५१ प्रतिशतभन्दा बढी मत ल्याएर एमालेको सरकार बनाउन सक्ने देखिन्छ । 

आधारभूत तहलाई कसरी बलियो बनाउने ? 
आधारभूत तहलाई राजनीतिक, साङ्गठनिक, सांस्कृतिक, सूचना र आर्थिक दृष्टिले सम्पन्न बनाउने काम गर्नुपर्ने हुन्छ । राजनीतिक खुराक यस्ता मिसनहरूले थोरबहुत प्रदान गर्ला तर पर्याप्त भने हुने छैन । किनभने अहिले एकै पटक देशैभरि अभियान सञ्चालन गरिएको हुँदा वडा वडामा र टोल टोलमा सबै विषयको प्रशिक्षकहरू पुर्‍याउन सकिने अवस्था देखिँदैन । यो मिसन सुरु गर्नुभन्दा अगाडि केही गृहकार्य गरी प्रशिक्षणहरू माथिल्लो तहबाट सन्दर्भ सामग्रीसहित प्रदान गरिएको भए शायद सहज हुने थियो । अहिले आएको मिसन ग्रासरुट वैचारिक तथा राजनीतिक प्रशिक्षण सामग्रीहरूको सँगालोले धेरै खुराक दिने भएकाले एउटा प्रशिक्षणमा एउटा वा दुई वटा बाहेक विषयमा प्रशिक्षण प्रदान गर्न सहज देखिँदैन । यसै पनि ५ वटा टोलमा मुस्किलले एउटा जिल्ला कमिटी सदस्य, १०देखि १५ वटा टोलमा एक प्रदेश कमिटी सदस्य र ५५ देखि १६५ वटा टोलमा एउटा केन्द्रीय सदस्य पुर्‍याउन सकिने अवस्था रहेको छ । त्यसो हुँदा कामै नहुने हो त ? त्यसो पनि होइन, अब नयाँ सम्भावना देखिएको छ, पार्टीले कामै दिन नसकेका बौद्धिक व्यक्तित्वहरू अखिल, अनेमसंघका पूर्व नेतृत्वमा रहनुभएका र अन्य शैक्षिक प्रतिष्ठानमा रहनुभएका एमालेका बौद्धिक व्यक्तित्वहरूलाई प्रशिक्षणको काममा यो वर्षलाई सहयोग माग्न सकिन्छ । आगामी वर्षदेखि हरेक टोलमा पुग्न सक्ने गरी पार्टीको स्कुल विभागले प्रशिक्षक खडा गर्नुपर्दछ । यो काम पनि पार्टी सुदृढ बनाउने काम नै हो ।

सङ्गठन विस्तार गर्दा हरेक टोलमा टोल कमिटी र हरेक घरमा एक जना पार्टी सदस्यता दिन यो मिसनमा खटिएका सहजकर्ताबाट सम्भव छकी छैन भए त्यो अनुसारको सामग्री सबै टोलसम्म पुग्ने गरी वितरण हुन सकेको छैन । तर, पनि पार्टी प्रवेशको काम शास्त्रीय ढङ्गले नै हुने भो फाष्ट ट्रयाकबाट व्यवस्थित हुने स्थिति बनिसकेको पाइँदैन यसलाई पनि अर्को वर्षसम्म तयार गर्नुपर्दछ । अहिले नेकपा एमालेको आधारभूत कमिटीमा कामको चाप अनुसारको आर्थिक व्यवस्थापन देखिँदैन । यसलाई व्यवस्थित गर्न जरुरी छ । 

टोल टोलमा सांस्कृतिक टोली:– हरेक कमिटीमा एउटा सांस्कृतिक टोली पार्टीले तयार गरी बेलाबेला सांस्कृतिक कार्यक्रम गर्ने थिति बसाल्नुपर्दछ । यसो हुँदा गीत सङ्गीत प्रतियोगितामा एमाले कार्यकर्ता नै प्रथम हुने गरी व्यवस्थित गर्न जरुरी छ । यो कामको लागि जन सांस्कृतिक मञ्चलाई वडा तहसम्म पुर्‍याउन जरुरी छ । यी सबै कामको लागि आर्थिक संयोजन गर्न जरुरी छ । 

आर्थिक संयोजन:– केन्द्रको निर्देशन, प्रदेश कमिटीको निर्देशन, जिल्ला कमिटीको निर्देशन, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीको निर्देशन, प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको निर्देशन, पालिका कमिटीको निर्देशन वडा कमिटी मै आउने र वडा कमिटीले पनि टोल कमिटीमार्फत त्यो काम सम्पन्न गर्नुपर्ने भएकाले टोल कमिटी, वडा कमिटी र पालिका कमिटीलाई आर्थिक दृष्टिले मजबुत बनाउने प्रणालीको विकास गरिनुपर्दछ । पार्टी सदस्यको घरमा मरिमराऊ भएमा वडा कमिटी र पालिका कमिटीले पुग्नुपर्ने, अन्य कार्य बिमारी, जन्ती मलामी पनि जाने मूल थलो भनेको नगर र वडा कमिटी नै भएकाले यो कमिटीलाई मजबुत बनाउन जरुरी छ । काम गर्ने आधारभूत कमिटीले आफूले जिताएको पालिकाको वडा सदस्यको लेवी समेत नगरले लैजाने, नगर कमिटीले जिताएका जनप्रतिनिधिको लेवी जिल्लाले लैजाने भएकाले लेवी जति निर्देशन दिने कमिटीमा हुने काम गर्ने कमिटी खाली हात हुने परम्पराको अन्त्य गर्न जरुरी छ । आ–आफ्नो क्षेत्रको लेवी आ–आफ्नो कमिटीमा आउन सकेको खण्डमा निर्वाचन होस या अन्य पार्टीको काममा पालिका कमिटी, वडा र टोल कमिटी हिँड्ने मात्रै होइन दौडिने गर्दछ । त्यस अर्थ आधारभूत तहको पार्टी सङ्गठनलाई हरेक दृष्टिले मजबुत बनाउने वा बनाउन सहयोगी हुनेछ मिसन  ग्रासरुट अभियान । पालिका कमिटी र वडा कमिटी बलियो भएमा जनतासँगको सम्बन्ध पनि सुदृढ हुने र जनतासँगको सम्बन्ध सुदृढ भएमा नेकपा एमाले झन् बलियो हुने नीति अनुरूप आएको मिसन ग्रासरुट अभियानले नेकपा एमाले आगामी निर्वाचनमा कम्तीमा ५१ प्रतिशत मत भारसहित पहिलो पार्टी बन्ने छ । आजैदेखि लागौँ अभियान सफल पारौँ । 

लेखक : नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शिवसताक्षी वडा नम्बर ९र १० को सहजकर्ता हुनुहुन्छ ।
 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ३३ बजे