आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जनार्दनले जाेगाउन खोजेका शाह जेल चलान

काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशपछि पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शाहसँगै पक्राउ परेकी विनिता तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

प्रकरणमा संलग्न अन्य केही अझै फरार रहेका छन् ।

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो । 

यसअघि अमेरिकाबाट आफ्नो कम्पनीको नाममा आएको लाखौं डलर नेपाल राष्ट्र बैंकले रोकेको भन्दै शाहले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत गुहारेका थिए । यही कारण शर्मा विवादमा आएका थिए ।

शाहको नाममा रहेका पे यू सेन्टरका नाममा एक लाख ८० हजार ४ सय ७५ डलर, टाइम्स टुडे पिस होलिडेका नाममा ३ लाख ५० हजार डलर, वर्ल्ड एट वर्क कन्सल्टेन्सीका नाममा २ लाख ४४ हजार ४ सय २० डलर, वर्ल्ड एक्सपर्ट एन्ड इम्पर्टका नाममा ४ लाख डलर, फोर्टिन पिक रिजर्भका नाममा २ लाख ५९ हजार ४ सय ५० डलर, वर्ल्ड फस्ट जब प्लेसमेन्टका नाममा ५९ हजार ८ सय ८२ डलर, वर्ल्ड वाइड रेमिटका नाममा ७९ जहार ५ सय २५ डलर, वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्टका नाममा ६ लाख ३ हजार ३ सय ९५ डलर, वर्ल्ड फर्स्ट होलिडेका नाममा ८ लाख ३१ हजार ७ सय २४ अमेरिकी डलर र ३ लाख ४० हजार क्यानेडियन डलर आएको दाबी गरिएको छ ।

यस्तै हन्टिङ रिजर्भ अफ नेपालका नाममा २ लाख ३० हजार ४ सय ५० डलर, माउन्टेन अपार्टमेन्टका नाममा ४ लाख २५ हजार ८ सय ३० डलर, रोयल न्यु ल्यान्डका नाममा एक लाख ९९ हजार ९ सय ७५ डलर र यु क्यास सर्भिसका नाममा ४९ हजार ४ सय ७५ डलर आएको पाइएको छ । यस्तै शाह दाजुभाइसहित ८ जना व्यक्तिको नाममा पनि पैसा आएको पाइएको छ ।

अभियोग पत्रमा दाबी गरिएअनुसार शाह नेतृत्वको समूहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १९ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ र ३ लाख ४० हजार क्यानेडियन डलर नेपाल भित्र्याएको छ ।

उनलाई सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । पृथ्वी बहादुर शाहको अवैध रकम नेपाल राष्ट्र बैँकले रोक्न खोज्दा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बचाउ गरेका थिए । यही प्रकरणमा गभर्नर महाप्रसाद अधिकारीलाई तत्कालिन सरकारले निलम्बन गरेको थियो भने सर्वोच्च अदालतले पुनर्वाहली गरेको थियो । 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १ : २८ बजे