विश्वभरका बैङ्कहरूको सेयरमा गिरावट, अमेरिकाका दुई ठूला बैक टाट पल्टियो

काठमाडौँ – अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको राष्ट्रपति जो बाइडेनको आश्वासनपछि पनि विश्वभरका बैंकहरूको सेयरमा गिरावट आएको छ । अमेरिकाका दुई ठूला बैक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएपछि अमेरिकी सरकारले यसप्रति गम्भीर भएको जनाएको हो ।

राष्ट्रपति बाइडेनले सबै उपाय अबलम्बन गरी बचतकर्ताको रकम डुब्न नदिने बताउनु भएको छ । उहाँले बैंकिङ प्रणालीलाई जोगाउन आवश्यक सबै काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

समस्याग्रस्त बैंकबाट बचतकर्तालाई रकम झिक्ने व्यवस्था मिलाउने पनि उहाँले बताउनु भयो । बैंकहरुले अनलाइन सेवा बन्द गरेपछि बचतकर्ताहरु पैसा झिक्न चेक सहित घण्टौ लाममा बस्न थालिसकेका छन् ।

अमेरिकाको बैंकिङ क्षेत्रमा यस किसिमको समस्या सन् २००८ पछि पहिलोपल्ट आएको हो । उच्च ब्याजदरका कारण समस्यामा पर्दै गएको बैंकलाई जोगाउन आफ्नो सम्पत्ति बेच्न खोजेपछि बिहीबारदेखि बैंकको शेयर मूल्य घट्न थालेको थियो ।

शुक्रवार पनि शेयर मूल्यमा उच्च गिरावट आएपछि नियामक निकायले बचतकर्ताहरुको सुरक्षाका लागि भन्दै बैंक नै बन्द गरिदिएको हो । विज्ञहरूले बैंकहरूको अहिलेको समस्या बढ्दो ब्याजदरको कारण आएको बताएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ९ : २० बजे