राष्ट्रपति भवनमा घटस्थापना

भर्ना विवाद नसुल्टिँदा आठ क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। 

देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको बताउनुभयो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।

हाल अवरुद्ध भएको क्याम्पसको भर्ना विवाद हल गरेर निर्वाचन प्रक्रिया अगाडी बढाउन क्याम्पस प्रमुखहरूलाई निर्देशन दिइसकेको छ । 

‘हामी यस पटक सबै क्याम्पसमा स्ववियु निर्वाचनमार्फत नेतृत्व आउने छन्, कुनै पनि क्याम्पसमा स्ववियुको नेतृत्व विना सञ्चालन हुन सक्दैन भन्नेमा सचेत छौँ’, उहाँले भन्नुभयो,  ‘त्यसैले रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ, चाँडै ती क्याम्पसमा स्ववियु निर्वाचन हुनेछन् ।’

उहाँका अनुसार देशैभरका अन्य क्याम्पसमा भने उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : १३ बजे