माओवादी धारका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ ।  माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

बैठक अहिले बिहान केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् । केही दिन पहिले पनि माओवादी धारका पार्टीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव,  कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी हुनुहुन्छ ।

यसबीचमा बिहीबार सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइने हुँदै आजका लागि सारिएको छ। उक्त रिटमा सम्भवतः आज पहिलो सुनुवाइ हुनेछ । 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०७ बजे