साफ यू–१७ च्याम्पियनसिप आजदेखि

न्यायिक क्षमता अभिवृद्धिको लागि अभिमुखीकरण

भकुण्डेवेशी । न्यायिक क्षमता अभिवृद्धिको लागि नमोबुद्ध नगरपालिकाले मेलमिलापकर्तालाई अभिमुखीकरण गरेको छ । 

नगरपालिकाको न्यायिक समितिमार्फत न्याय सम्पादनमा सहज होस् र मेलमिलापमार्फत नै  समस्या समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभिमुखीकरण गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्दप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सहभागी विभिन्न वडाका मेलमिलापकर्ताहरूले वडा तहमा सेवा दिनको लागि छुट्टै कार्यालय, फर्निचरको व्यवस्था नभएको भन्दै सो व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।

नगरमा सूचीकृत मेलमिलापकर्ताहरू बिस्तारै विस्थापन र अन्यत्र पेसामा पलायन भएको भन्दै उहाँहरूले तालिम, अध्ययन, अवलोकनमार्फत पुनर्ताजगी गराउनुपर्ने बताउनुभएको थियो । 

अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख कुनसाङ लामाले कार्यालय व्यवस्थापन, क्षमता अभिवृद्धि लगायत विषयमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापकर्ताले तल्लो तहमा नै विवाद समाधान गरे न्यायिक समितिलाई सहयोग हुने भन्दै मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको लागि नगरपालिकाले विभिन्न योजना ल्याउने बताउनुभयो । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, न्यायिक समितिका सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामालगायतले स्थानीय तहको न्यायिक अधिकारका विषयमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका कानुनी सल्लाहकार महेन्द्र थिङले मेलमिलाप सम्बन्धी विद्यमान कानुन, ऐन, नियमहरूका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

न्यायिक समितिको तथ्याकं अनुसार, नमोबद्धमा ५४ जना सूचीकृत मेलमिलापकर्ता छन् । 

चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २२ उजुरी मध्ये १६ वटा निरूपण भएका छन् भने ६ वडा बाँकी छन् । यो वर्ष परेका १० उजुरी मध्ये २ वटा फैसला भएका छन् भने ४ वटा मेलमिलाप भएका छन् । १० वटा मुद्दा चालु छन् । 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : २८ बजे