साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकता              

आज मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवस हो । विश्वका धेरैजसो देशहरूमा प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा विभिन्न नाराका साथ मनाउने गरिन्छ । यस वर्षको  महिला दिवसको नारा “समतालाई अपनाऔँ” भन्ने  रहेको छ । महिला दिवसको इतिहास महिला अधिकारको मागहरूबाट सुरु भएको हो, समान कामका लागि  पुरुष समान ज्याला, श्रमिकका शिशुहरूको कार्य समय, महिला मताधिकार तथा मानव अधिकारको अभ्यास गर्न पाउनुपर्ने जस्ता आधारभूत सवालहरूलाई लिएर श्रमिक महिलाहरूले सुरु गरेको संर्घषकोे इतिहाससँग जोडिएको छ । लैङ्गिक समानताबाट नै समाज  र राष्ट्रहरूको विकाश सम्भव छ भन्ने मान्यताबाट प्रभावित विश्व महिला आन्दोलनको प्रतिकात्मक महत्त्व यो दिवसले बोकेको देखिन्छ । उन्नाइसौँ शताब्दीमा युरोपमा भएको औद्योगिक क्रान्तिका कारण ग्रामीण क्षेत्रबाट धेरै किसानहरू शहरतिर बसाइसराइ गरे र औद्योगिक कलकारखानाहरूमा काम गर्न थाले, त्यहाँ उनीहरूले पुँजीवादको नाङ्गो विभेदको अनुभव गर्दै गए । उनीहरूले विभेदकारी राज्य व्यवस्था तथा पुँजीपतिहरूले महिला मजुदरहरुलाई ज्यालामा  विभेद गर्ने  सुत्केरी  अवस्थामा पनि छुट्टीको अवसर नदिने जस्ता अमानवीय व्यवहारका कारण महिला मजदुरहरूको आन्दोलन अघि बढिरहेको थियो । सन् १८४८ मा सर्वहारा श्रमिक वर्गको मुक्तिको सिद्धान्त कम्यूनिष्ट घोषणापत्र जारी भएपछि पेरिस कम्यूनमा  महिलाहरूले देखाएको बहादुरीले ठुलो ऐतिहासिक  महत्त्व राख्दछ । यस आन्दोलनमा कैयौँ बिराङ्गना महिलाहरूले  जीवनको आहुति समेत दिएका थिए । 

सन् १८५७ मार्च ८, का दिन अमेरिकाको न्यूयोर्कस्थित कपडा कारखानामा कार्यरत श्रमिक महिलाहरूले पुरुषसरह समान कामका लागि सबैले समान ज्याला पाउन पर्छ भनी सङ्गठित रूपमा आन्दोलन सुरु गरेका थिए ।  महान् दार्शनिक कार्लमाक्र्सले पहिलो पटक सन् १८६८ मा महिला अधिकारको सवालमा आवाज उठाएका थिए । महिलाहरूले  कारखानामा काम गर्न हुन्न भन्ने प्रुधोको गलत बिचारको खण्डन गर्दै महिलाहरूले मुक्तिको लागि काम गर्नुपर्ने अनिवार्यतालाई  औँल्याएका थिए । त्यति बेलादेखि नै महिलाहरूले ट्रेड युनियनको सदस्यता लिन थालेका र महिला मुक्तिको  आन्दोलनमा सामेल भएका थिए ।  जर्मनीका हिटलरले महिलाहरूलाई जागिरमा नजाऊ भान्सामा फर्क भन्दै  घरेलु दासतामा जकड्याउन चाहन्थे तर सचेत महिलाहरूले फासिष्ट विरोधी आन्दोलन गरेर यसको उचित जवाफ दिएका थिए । 

सन् १८८९ मा पेरिसमा आयोजित अन्तर्राष्ट्रिय श्रमिकहरूको सम्मेलनमा प्रसिद्ध साम्यवादी नेतृ क्लारा जेट्किनले महिला तथा पुरुषको समान अधिकारको लागि आवाज उठाएकी थिइन् । यो अन्तर्राष्ट्रिय मञ्चबाट महिलाले उठाएको पहिलो आवाज थियो । त्यसपछि अमेरिका र युरोपमा श्रमिकहरू एकपछि अर्को आन्दोलनमा सरिक भएका थिए ।

सन् १९०७ मार्च ८ मा जर्मनीमा समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । यस सम्मेलनले श्रमिक महिला सङ्घको स्थापना गर्दै क्लारा जेट्किनलाई महासचिव बनायो । त्यसपछि १९०८ मा अमेरिकाको न्यूयोर्कमा श्रमिक महिलाहरूले मताधिकारको मागलाई लिएर गरेको संर्घष ठुलो क्रान्तिकारी कदम भएको मानिन्छ । त्यस्तै, १९०९ को मार्चमा शिकागोमा अझ ठुलो र सङ्गठित शक्तिले  आफ्नो अधिकारका लागि व्यापक हडताल र जुलुस प्रदर्शन गर्‍यो र चारैतर्फबाट व्यापक समर्थन पनि पायो । यस्तो सङ्घर्षशील ऐतिहासिक पृष्ठभूमिमा क्लारा जेट्किनको नेतृत्वमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनको आयोजना भयो जस्मा १७ देशका एक सय जनाभन्दा धेरै महिलाहरूले भाग लिएका थिए । सो सम्मेलनमा  उपस्थित  महिलाहरूले  साम्राज्यवादी युद्ध पिपासुहरूको  हतियारको होडबाजी र  विश्व युद्धलाई रोक्न, विश्व शान्ति कायम गर्न, आमा र बच्चाहरूको सुरक्षा , दैनिक ८ घण्टा कामको बारेमा तथा महिलाहरूले भोग्नुपरेका शोषणहरूको साथै  आर्थिक र राजनैतिक सवालहरूमा गम्भीर छलफल चलाए । क्रान्तिकारी परम्परा भएको ८ मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको रूपमा मनाउन लुइस चाइटज र क्लारा जेट्किनले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भयो । सन्  १९११ मार्च ८ देखि यसलाई विश्वका महिलाहरूको सङ्घर्षशील एकता, समानता, अधिकार र मुक्तिको प्रतीकको रूपमा मनाउन थालियो । यसलाई महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक उपलब्धिका रूपमा लिइन्छ । श्रमिक महिलाहरूले पहल लिएका महत्त्वपूर्ण आन्दोलनहरू पनि यसै दिनमा हुँदै आएका छन् । आज मार्च ८ ले कुनै खास अमुक दिनको पहिचान मात्र नभएर समग्र विश्व महिला अस्तित्वको इतिहास र वर्तमानको संयोजन गर्दै भविष्यतिर सङ्केत गर्ने गरेको छ । 

८ मार्चको सन्दर्भमा सन् २०१० अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवस सुरु भएको एक सय वर्ष पुगेको उपलक्षमा महिलाहरूको विश्व पदयात्रा अभियानको रूपमा क्यानाडाको क्यूवेकका श्रमिक महिलाहरूले सुरु गरेका थिए । हाल यसमा युरोप, एसिया प्रशान्त, अमेरिका,ल्याटिन अमेरिका, अफ्रिकाका सबै देशहरूमा गरी ४० भन्दा बढी सदस्यहरू रहेका छन् । लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको सदैव प्रमुख तथा भित्री सवालको रूपमा रहेको हुँदा उसले  पनि  यसको सार्थकतालाई महसुस गरी  सन् १९७५ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने निर्णयका साथ थालनी गरेको छ । यसपछिका दिनहरूमा श्रमिक महिलाहरूले सुरु गरेको यो दिवस विश्वका सबै महिलाहरूको दिवस बन्न  पुगेको छ । आज यस दिनलाई एकता,सद्भाव, महोत्सव, वकालत, प्रतिक्रिया तथा कामकाजको रूपमा विश्वभरि मनाउने गरिन्छ ।  

नेपालको इतिहास हेर्दा जहानियाँ राणा शासनको विरोधका साथसाथै तत्कालीन समयमा महिला विरुद्धको विभेदको अन्त्य,सामाजिक रूढिवाद विरुद्धको जागरण अभियानमा अग्रसर  भएर जघन्य अपराधका रूपमा स्थापित सती प्रथा, दासदासी, कमाराकमारी प्रथा तथा सामाजिक विभेद, अन्याय, शोषण, अत्याचार अन्त्यको लागि राणा शासनको विरुद्धमा जन चेतना जागृत गर्ने नेपाली प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिलाको रूपमा परिचित नाम हो योगमाया न्यौपाने । उनले सती प्रथा हटाइयोस्,जनताले न्याय निसाफ पाउन र शोषण मुक्त समाजको सृजना होस जस्ता माग राख्दै आन्दोलनमा अग्रसर भइन र वि स १९७४ मा महिला जागृति सङ्घको स्थापना गरी राणाहरूसँग माग राखिन् । आफ्ना मागहरूको सम्बोधन नभए पछि २४० अनुयायीहरू समेत सामूहिक अग्नि दाह गर्ने तयारी गर्दा  राणाहरूले उनलाई जेल समेत हाले । आफ्ना मागहरूलाई निरन्तरता दिँदै  सन्ततिका लागि अरुण नदीमा हाम फालेर जल समाधि समेत लिएका बिराङ्गनाहरुको साहसको इतिहास युरोपमा दास प्रथाका विरुद्ध स्पाटकिसको विद्रोह जस्तै सामाजिक कुसंस्कारका विरुद्धको योगमायाको विद्रोह त्यतिकै महान् मान्न सकिन्छ । यसरी नै २००४ मा राणा शासन कालमा भएका सबै खाले विकृति र कुरीतिका विरुद्ध सङ्घर्षको नेतृत्वदायी भूमिका कनकलता बज्राचार्य, साधना, साहना प्रधान, मगलादेवी सिंह र कामाक्षादेवी बस्नेत लगायत धेरै महिलाहरूले नेपालको महिला आन्दोलनलाई सही दिशा प्रदान गरेको देखिन्छ । 

पञ्चायतकालसम्म पनि नेपालमा धेरै औद्योगिक क्षेत्रहरू स्थापना भएका थिए । त्यस समयमा महिलाहरूले नेपालमा भएका औद्योगिक क्षेत्रहरू जस्तै विराटनगर, बिरगंज,हेटौडा, बुटवल, पोखरा तथा नेपालगंजमा भएका कलकारखानाहरूमा काम गर्ने गर्दथे । विभिन्न कारखानाहरूमा महिला मजदुरको उल्लेख्य सङ्ख्या थियो । महिला समानताका सवालहरूलाई पुरुष मजदुरहरूले पनि ऐक्यबद्धता जनाउन हातमा हात मिलाउने गर्दथे । उक्त समयका धेरै नेपाली  श्रमिक मजदुरहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको रूपमा भव्य रूपमा जुलुस प्रदर्शन गरी मनाउने तथा आफ्ना जायज मागहरू राख्ने गर्दथे ।  विभिन्न नाराहरू लेखिएका ब्यानरहरू तथा प्लेकार्डहरूसहित सबै औद्योगिक क्षेत्रहरूबाट निस्कने जुलुसहरूमा राता र रङ्गीचङ्गी कपडाले सहरका गल्लीहरू भरिन्थे र विभिन्न आवाजहरू घन्किन्थे, यो दिवसको रौनक फरक खालको हुने गर्दथ्यो ।यस्ता कार्यक्रमहरूमा कम्तीमा पनि ८ देखि १० हजार मजदुरहरूको सक्रिय सहभागिता रहन्थ्यो ।सर्वहारा वर्गको नेतृत्व गर्ने मजदुरहरूले गरेका यस्ता दिवस तथा कार्यक्रमलाई पञ्चायतका  हिमायतीहरूले  दमन गर्ने पनि गर्दथे तथापि यस्ता कार्यक्रमहरू भएर नै छाड्दथे । अर्कोतर्फ पहुँचवाला  महिला वर्ग तथा विभिन्न सङ्घ संस्थाहरूले नारी दिवस भनेर कोठेसभाहरु पनि गर्ने गर्दथे । यो क्रम वि सं २०५०को आसपास सम्म सक्रिय रह्यो ।

मजदुरहरू पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय हुनका साथै आफ्ना मागहरूलाई अगाडि बढाउँदै गर्दा  बहुदलीय व्यवस्थाको स्थापना पनि भयो । योसँगै कलकारखानाहरूलाई निजीकरण गर्ने नीति अनुरूप सबै उद्योग कलकारखानाहरू सरकारको स्वामित्वबाट निजी स्वामित्वमा हस्तान्तरण हुन पुगे । छिमेकी राष्ट्रको प्रभाव तथा विश्व ध्रविकरणका कारण नेपालका उद्योगधन्दाहरू सफल हुन सकेनन् मजदुरहरूको बिचल्ली भयो । बेरोजगारी बढ्दै गयो, औद्योगिक क्षेत्रहरू खण्डहरमा परिणत भए । छिमेकी राष्ट्रबाट उपभोग्य समानहरू आयात हुन थाले श्रमिक मजदुरहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको रूपमा मनाउने प्रचलनमा पनि कमी हुँदै गयो । 

नेपालमा २०७२ सालमा जारी भएको नेपालको संविधानले समानुपातिक समावेशी सिद्धान्तको  अनुरूप  विभेद रहित, समृद्ध र न्यायपूर्ण  समाजको निर्माण गर्ने आधार तयार गरेको छ । समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ, पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक हुने व्यवस्था गरेको छ । 

यद्यपि नेपाली समाज भने अनेकौँ प्रकारका अन्धविश्वास, कुरीति, र कुसंस्कारको जालोमा जेलिएको छ । त्यस प्रकारका अन्धविश्वास, कुरीति, र कुसंस्कारको जालोबाट सबैभन्दा धेरै महिलाहरू नै प्रभावित र प्रताडित छन्, संविधानमा लेखिएको भएता पनि व्यवहारमा  लागु गर्न धेरै चुनौतीहरूको  सामना गरिरहेका छन् ।

जुन समयमा अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको थालनी गरियो त्यति बेला  महिलाहरूको समस्या जस्तो थियो आज पनि केही फरक तर मात्रात्मक रूपमा खासै फरक देखिँदैन बरु घटेर जानुभन्दा पनि विभिन्न स्वरूपमा बढ्दै गएको पाइन्छ । हाम्रा सामाजिक सम्बन्ध, सांस्कृतिक मान्यता र संस्कारहरूमा सामन्तवादी प्रवृत्ति हाबी छ । सामन्तवादको एउटा स्वरूप पितृसत्तात्मक र पुरुष प्रधान चिन्तन भएको हुँदा विभिन्न राजनीतिक सङ्घ सङ्गठनहरूमा आबद्ध महिलाहरूले समाजमा रहेका विभिन्न खाले विभेदहरू, महिला हिंसा र असमान व्यवहारको विरुद्धको साथै राजनैतिक स्वतन्त्रताको खातिर लगातार रूपमा आन्दोलनमा सरिक हुँदै आएका छन्  । हुन त  हुने खाने र पहुँचवालाहरूको लागि धेरै अवसरहरू नभएका पनि होइनन् तर गरिब र निमुखाहरूको लागि नत यहाँ राम्रो शिक्षाको सुविधा छ नत मजदुरहरूलाई रोजगारीको । परिवारलाई हातमुख जोर्ने व्यवस्थाको जोहो गर्न आज नेपाली मजदुरहरू खाडी मुलुकमा जान बाध्य छन् जहाँ उनीहरूले विकराल अवस्थाको सामना गर्न परेको देखिन्छ । महिला मजदुरहरूको त झन् दर्दनाक अवस्था  छ तथापि उनीहरूका आवाज बुलन्द गर्ने अवसरहरू बढ्दो विश्व पुँजीवादले सिद्ध्याइदिएको छ । नेपाली युवाहरूको  विदेशमा बगाइएका पसिनाको कमाइबाट देशको अर्थतन्त्र चलेको छ, तथापि उनीहरूको सुरक्षामा राज्य मौन रहेको अवस्था छ । देशभित्रै पनि कमजोर नारी, बूढाबूढीको आवाज अझ पनि दबिराखेका छन् । महिला अधिकार र उनीहरूको सुरक्षाका बारेमा धेरै सङ्घ र संस्थाहरू कार्यरत छन् । राज्यले पनि धेरै लगानी गरेको छ तर समस्या जस्ताको जस्तै छ । 

त्यस कारण यस्ता आवाजहरूलाई दबाउने होइन अझै बुलन्द रूपमा उठाउन पर्ने हुन्छ । किताबका पानाभन्दा बाहिर, सडक टोल तथा गाउँ बस्तीहरूमा जागरणको रूपमा लैजान जरुरी छ । हरेक नारीले आफ्नो शरीरको  अधिकार आफैले गर्न पाउनपर्छ । आजको दिनमा लैङ्गिक समानता र महिला सशक्तीकरणले विश्वको अर्थतन्त्रलाई राम्रो बनाउने काममा योगदान पुर्‍याउने मात्र होइन कि, दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछन् । विश्वको जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाहरूले लैङ्गिक समानता जुन मानव अधिकारका आधारभूत आवश्यकताको क्षेत्रभित्र पर्दछ र यसको प्राप्तिबिना  शान्तिपूर्ण समाज, दिगो विकास र पूर्ण मानव संसाधन पूरा गर्न कठिन देखिन्छ ।  हामी सबैले “समतालाई अपनाऔँ” अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकतालाई नर्बिसौँ,  ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सबैमा शुभकामना !

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ११ : ०५ बजे