साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पूर्वीय संस्कृतिमा महिलाको सम्मान र योगमायाको योगदान !

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ! अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलाहरूले उठाएको, विकास गरेको आन्दोलन नै पछि गएर अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनका रूपमा स्थापित भएको हो । सुरुमा यो आन्दोलन स्थानीय आन्दोलनका रूपमा रहेको भए पनि यसको अन्तर्वस्तुमा श्रमिक महिलाको विषय हुनु र त्यति बेलासम्म संसारका धेरै देशहरूमा महिलाहरूले सामान्य नागरिक अधिकार समेत नपाएको अवस्था हुनु, सबै प्रकारका शोषणका विरुद्ध जागरण आउनु, यस प्रकारका र राज्य विरुद्धका राजनीतिक आन्दोलनसमेत तीव्र हुनुका कारण यो आन्दोलन संसारका सबै क्षेत्रका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समानता र न्यायको आन्दोलनकारीहरूका लागि आकर्षणको विषय बन्यो । राजनीतिक आन्दोलन उठाउन र विकास गर्नका लागि महत्त्वपूर्ण माध्यम बन्यो ।

ई.सन् १९०८ को अमेरिकी महिलाहरूको त्यस आन्दोलनको समर्थन, स्मरण र सम्मानमा अमेरिकाको सोसलिस्ट पार्टीले फेब्रुअरी २८, १९०९ मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । विभिन्न व्यक्तित्वहरूका भनाइ, लेख तथा अन्य स्रोतहरूका अनुसार त्यसपछि जर्मन समाजवादी नेतृ क्लारा जेट्किनको अगुवाइमा  सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय रूपमा मनाउने प्रस्ताव पारित भयो । यस दिवसको अन्तर्राष्ट्रिय मान्यतासँग महिलाहरूको मताधिकारको विषय उल्लेखनीय रहेको छ । क्रमशः यो आन्दोलन राजनीतिक आन्दोलनको हिस्सा बन्न पुग्यो । ई.सन् १९१७ मा रसियाका महिलाहरूले गरेको हडताल रसियाको जारशाही अन्त्यको आन्दोलन बन्न पुग्यो । सुरुमा यो दिवस फेब्रुअरी महिनाको अन्तिम आइतबार मनाउने निर्णय थियो । यसको इतिहास हेर्दा यो दिवसको मिति कहीँ फ्ब्रअरी र कहीँ मार्च देखिन्छ ।  यसो हुनुको कारण प्रचलनमा रहेका पात्रोका भिन्नताले हो । ई.सन् १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा परेको थियो भने ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यसैले अन्तर्राष्ट्रिय रूपमा ८ मार्चको दिनलाई यो दिवस मनाउने निश्चित भएको हो । यद्यपि, यो श्रमिक महिला दिवस हो, तर यस आन्दोलनको अन्तर्वस्तु महिलाका मात्र हक—अधिकारमा सीमित रहेको देखिँदैन । अहिले यस दिवसबाट बिस्तारै ‘श्रमिक’ शब्द हट्दै आएको छ । ‘जे भने पनि उही हो, महिलाले अधिकार पाउनुपर्छ, महिलाले सम्मान पाउनुपर्छ’ भन्ने बुझाइ विकास भइरहेको छ । यस्तो बुझाइले महिला आन्दोलनको दिशालाई शोषित, पीडितहरूको शोषण र पीडाबाट सधैँका लागि मुक्ति हुने विषयको पक्षपोषण गर्दैन† बरु केही महिलाहरूले पाइरहेको सम्मान देखाएर अरूलाई कमजोर करार गर्न बल पुर्‍याउँछ । श्रमिक महिला दिवसले ‘श्रमजीवी’ र ‘महिला’को कुरा गर्छ भने अन्यले निरपेक्ष महिलावादको पक्षपोषण गर्दछ ।  

संसारको विकासमा हरेक मानिसको सहभागिता छ, महिला र पुरुष दुवैको श्रमशील भूमिकाले नै मानव समाज अघि बढिरहेको भए तापनि यसलाई त्यस रूपमा स्वीकार नगरिएको भूगोलबाट यो आन्दोलन सुरु भएको हो । भूगोलको पूर्वी गोलार्द्धको तुलनामा पश्चिमी गोलार्द्ध मानव सभ्यता विकासको दृष्टिले पछि रहेको छ । यसका पछाडि मूलतः यथास्थितिमा मानव बस्तीका लागि त्यहाँको भूभाग प्रतिकूल हुनु मुख्य कारण हो । यसले मानव समाजको विकासका अनेक आयामहरूमा प्रभाव पर्नु स्वाभाविकै हो । पूर्व, खास गरी भारतीय उपमहाद्वीपको तुलनामा त्यहाँको (पश्चिम)मानव बस्ती नयाँ, सोच—चिन्तन र व्यवहार नयाँ, अधिकार र कर्तव्यका सिलसिला नयाँ, संस्कृतिको आरम्भ नयाँ र पछिल्लो हो । 

पूर्वका मानिसले आफूलाई आवश्यक पर्ने चिन्तन विकास गरेका छन् । आवश्यकतालाई विश्लेषण गर्ने दर्शन विकास गरेका छन् । जीवन र समाज व्यवस्थापन गर्ने आफ्नै शैली विकास गरेका छन् । यस क्रममा यहाँका मानिसहरूले गरेका सङ्घर्षका स्वरूप अलि भिन्न प्रकारका रहेको पाइन्छ । श्रम, सीप र पराक्रमसँग प्रत्यक्ष संलग्नताका अनेकौँ सन्दर्भ वेद तथा पुराणहरूमा पाइन्छ । यिनको प्रभाव समाज र संस्कृतिमा रहिरहेको छ । यस्ता कतिपय विषय जीवनोपयोगी शिक्षाको रूपमा, धर्मको रूपमा समेत रहेको अवस्था छ । 

सिङ्गो मानव समाज गतिलोको माग, खोजी र आविष्कार गर्दै अघि बढिरहेको छ । मानव समाज सधैँ नयाँमा बाँचिरहेको छ । दिन प्रतिदिन हरेकमा नयाँ परिमार्जन खोजिरहेको र गरिरहेको छ । गतिलोको अर्थ गतिशील रहेको भन्ने हुन्छ । यही गतिशीलतामा मानिसले सभ्यता निर्माण गरिरहेको छ र संस्कृति विकास गरिरहेको छ । यस क्रममा सधैँभरि एकैनासको गतिशीलता रहेन होला, रोकियो होला वा थोरै पछिल्तिर धकेलिएको पनि होला । हरेक परिवर्तन सबैका लागि उत्तिकै हितकर हुँदैन र जसका लागि अहितकर हुन्छ, तिनले यस गतिलाई सके रोक्न र नसके मन्द पार्न प्रयास गरेका होलान् । यहीँनेर सङ्घर्ष भयो होला । सङ्घर्षको इतिहास जय—पराजय दुवैको इतिहास हो तर, विजयीले भोग गर्‍यो, आफ्नो इतिहास आफैले लेख्यो । पराजितले गुमायो, उसको इतिहास कमजोर बन्यो । अहिले पनि मानिसहरू ‘सङ्घर्षका कथा’मा ‘सफलता’कै कथा लेख्छन् । विगतमा पनि कयौँ पटक यो सिलसिला दोहोरिएको अनुमान सहजै गर्न सकिन्छ । 

प्राचीन सन्दर्भ र संस्कृतिलाई हेर्ने हो भने महिला र पुरुषका बीचमा शोषण र विभेदका मात्र विषय छैनन्, सहकार्य र सम्मानका उत्कृष्ट विषय छन् । ऋग्वेदको यस ऋचाले हाम्रो पूर्वीय गोलार्द्धको विषयमा फरक ढङ्गले सोच्न सघाउँछ: 

‘चरित्रं हि वेरिवाच्छेदि पर्णमाजा खेलस्य परितक्म्यायाम् । सद्यो जङ्घामायसीं विश्पलायै धने हिते सर्तवे प्रत्यधत्तम् अर्थात् हे अश्विनीकुमारहरू हो, खेल नाम गरेका राजाको युद्धमा विश्पलाको खुट्टो काटिएर चराको प्वाँख खसेझैँ खसेको थियो । रातको समयमा फलामको खुट्टो राखिदिएर भोलिपल्ट आक्रमण गर्नका लागि तिमीहरू दुईले तयार बनाइदियौ ।’

सन्दर्भ श्रमिक महिला दिवसको हो । दृष्टिकोण श्रमिक पक्षधरता हो । यस मन्त्रमा महिला र श्रम दुवै विषय एकसाथ प्रकट छ । महिला विश्पला नामकी योद्धा छन् । उनी योद्धा हुन् र उनको श्रम युद्ध केन्द्रित रहेको छ । पुरुष अश्विनीकुमारहरू स्वास्थ्य क्षेत्रका बौद्धिक श्रमकर्ता हुन् । श्रमले संसारलाई जोड्छ, जोडेको छ । श्रमहीनताले संसार फुटाउँछ । यसको उदाहरण खोज्न कतै जानु पर्दैन । 

संसारको सर्वप्राचीन मध्येको प्राचीनतम मानिएको ऋग्वेद पूर्वीय संस्कृति, मूल्य—मान्यता र दर्शनको आधार ग्रन्थ हो । यो प्राचीन जनजीवनसँग जोडिएको मौलिक श्रुति—गायन हो । यसमा इतिहास, आविष्कार, परम्परा, प्रकृति, संस्कृति आदि मानव जीवनका सबै पक्ष समेटिएको छ । युद्ध, उत्पादन र व्यवस्थापन यसको मूल विषय रहेको छ । यसमा महिला र पुरुष दुवैका सङ्घर्ष र समन्वयका अनेकौँ सन्दर्भ छन् । यसलाई केही हिन्दुहरू र उनीहरूका संस्थाले मात्र नभई संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक उपक्रम युनेस्कोले विश्व सम्पदाको रूपमा सूचीकृत गरेको छ । यो सहकार्यको उदाहरण हो । 

हाम्रो संस्कृतिमा महिलाहरूप्रति उच्च सम्मान रहेको देखिन्छ । समाजका शक्तिशाली मानिसहरूले आफ्नो स्वार्थका लागि महिला तथा समाजका अन्य कमजोरहरूलाई गरेको शोषण संस्कृति हुन सक्दैन । संस्कृति सङ्कीर्ण हुँदैन, संस्कृति उदात्त हुन्छ । खुम्च्याउनु, बिगार्नु, जड हुनु, पश्चगामी हुनु संस्कृतिका लक्षण होइनन् । पूर्वीय सभ्यता र संस्कृतिमा महिला सम्मानका पक्ष चहकिला छन् । 

‘पूजनीया महाभागाः पुण्याश्च गृहदीप्तयः । स्त्रियः श्रियो गृहस्योक्तास्तस्माद् रक्ष्या विशेषतः अर्थात्, घरमा स्त्रीहरू पूजनीय, महालक्ष्मीस्वरूपा, पुण्या, घरलाई प्रकाशित गर्ने हुन्छन् । स्त्रीहरू घरका लक्ष्मी हुन्छन् । यसैले यिनको सम्मानपूर्वक रक्षा गर्नुपर्दछ ।’ 

विदूरनीतिको यो श्लोकले महिलाप्रतिको उच्च सम्मान दर्साएको छ । महिलाप्रतिको सम्मान र विशेष दर्जाको अर्थ उनीहरूको भूमिकाकै कारणले होला नि ! यदि कुनै बेला यो सम्मान घटेको छ भने त्यसको खोजीनिती गरिनुपर्दछ र त्यसलाई यसअनुसार कायम हुने गरी सच्याउनुपर्दछ ।

हाम्रा प्राचीन शास्त्र र प्रबन्धहरू महिलामैत्री त छँदै छन्, त्योभन्दा महत्त्वपूर्ण कुरा उनीहरूले पुरुषभन्दा बढी प्राथमिकताको पक्षपोषण गरेका छन् ।  यस सन्दर्भमा स्कन्दपुराण, माहेश्वरखण्डको यो श्लोक मनन गरौँ:

‘‘दशपुत्रसमा कन्या दशपुत्रान् प्रवद्र्धयन् ।  यत्फलं लभते मत्र्यः तल्लभ्यं कन्ययैकया अर्थात्, एउटी कन्या दस पुत्रहरू समान हुन्छिन् । दस पुत्रको लालन पालन गर्नाले जुन फल प्राप्त हुन्छ, त्यति फल केवल एउटी कन्या पालन गर्नाले नै प्राप्त हुन्छ ।’ यी त केही उदाहरण मात्र हुन् । 

स्त्री शक्ति यसरी महिमामण्डित छ । यी त महिला प्रतिको सम्मानका केही उदाहरण मात्र हुन् । सारा वेद, पुराणमा सिङ्गो सृष्टिको, स्थितिको र प्रलयको प्राकृतिक शक्तिको रूपमा स्त्रीशक्तिलाई स्वीकार गरिएको छ ।  अहिले विभिन्न बहानामा यस्ता प्रवन्धहरूलाई बिर्साउने प्रयत्न भइरहेको छ । यसलाई अलि द्वन्द्ववादी भएर हेर्न र बुझ्न आवश्यक छ । 

संसारमा विभिन्न प्रकारका आन्दोलनहरू उठे । आन्दोलनहरू उठिरहेका पनि छन् । समाजलाई यथास्थितिबाट माथि उकास्न र सकारात्मक परिवर्तन गर्न आन्दोलनको ठुलो भूमिका हुने गर्दछ । अथवा, यसो भनौँ— सकारात्मक सामाजिक रूपान्तरणका लागि जे जति भएका छन्, एक अर्थमा ती सबै आन्दोलन हुन् । आन्दोलनका विषय, रूप र दायरा अनेक हुन सक्दछन् । मानव समाज गतिलो भविष्यका लागि सदैव आन्दोलनरत छ । यसो गरिरहँदा हामीले हाम्रो आफ्नै भूमिमा बीजारोपण भएको योगमायाको आन्दोलनलाई बिर्सन हुन्छ र ? योगमायाको जेष्ठता र योगदानलाई कमजोर पार्न हुन्छ र ? यही अन्तर्राष्ट्रिय दिवसलाई योगमायाको योगदानलाई अन्तर्राष्ट्रिय विषयको रूपमा अघि बढाउन हुँदैन र ? यसो नगर्नु भनेको भनेको वास्तवमा नेपाली महिला आन्दोलनले योगमायाको आन्दोलनप्रति न्याय नगरेको ठहर्छ । 

हरेक विषयको पृष्ठभूमि हुन्छ । हरेक घटना, पात्र र प्रवृत्तिको इतिहास हुन्छ । वर्तमानलाई सापेक्ष ढङ्गले बुझ्न इतिहास बुझ्नुपर्दछ । इतिहासको पुनरावृत्ति होइन, स्मृति आवश्यक हुन्छ । इति+ह+आस= इतिहास, अर्थात् यस्तो भएको थियो भन्ने अर्थ बोकेको ‘इतिहास’ शब्दले पुनरावृत्तिको माग गर्दैन । 

नेपालको महिला आन्दोलनको इतिहास योगमायाको सङ्घर्षबाट सुरु भएको छ । योगमायाको सङ्घर्ष क्रमशः ‘महिला आन्दोलन’बाट माथि उठेको छ र यसले बृहत् सामाजिक राजनीतिक स्वरूप ग्रहण गरेको छ । योगमायाको सङ्घर्ष आत्मसङ्घर्ष, सामाजिक सङ्घर्ष हुँदै शासनका विरुद्ध विकास भएको राजनीतिक सङ्घर्ष हो ।  संसारको महिला आन्दोलनमा योगमायाको यो जेठो आन्दोलन हो । यस आन्दोलनका सन्तानले अहिले पछि विकसित भएका—नाम कहलिएका सहरको राज्यविरुद्ध केन्द्रित आन्दोलनलाई शिरोपर गर्नै पर्छ भन्ने केही  केही छैन । वेद, पुराण, महाभारत आदिका महिला पात्रहरूको विद्रोहको सांस्कृतिक आधार र योगमाया जस्तो क्रान्तिकारी योद्धाको भूमिमा योभन्दा कान्छो आन्दोलनलाई नेता मान्नुपर्ने केही आधार देखिन्न । ८ मार्च होइन अन्तर्राष्ट्रिय महिला आन्दोलनको हक योगमायाको आन्दोलनले पाउनुपर्छ । कुनै पनि आन्दोलनले न्याय गरेको वा गर्ने  हुनुपर्दछ । योगमायाका योगदानलाई ओझेल पार्ने गरी होइन योगमायाको आन्दोलनलाई स्वीकृत गराउने गरी अन्ताराष्ट्रिय महिला दिवस मनाउन आवश्यक छ । अहिले प्रायः आन्दोलनहरूमा भुईँ बिर्सने प्रवृत्ति बढ्दै गरेको देखिँदै छ । ऐतिहासिक र भौतिक भुईँ बिर्सिएको आन्दोलनले कुनै आफैलाई बिर्सन सक्दछ । आफैलाई बिर्सनु भनेको आत्मसमर्पण र लम्पसारवाद हो । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ०७ बजे