नेपालको राजनीतिक, सामाजिक रूपान्तरणमा महिलाको सहभागिता विश्वकै लागि अनुशरणीय  : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय  रहँदै आएको बताउनुभएको छ । 

संसारभरका महिलाहरूलाई समानताको हक, अधिकार स्थापित गर्ने प्रेरणादायी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख र समृद्धि एवं सफलताका लागि शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले अग्र मोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताउनुभयो । 

उहाँले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरूको समान सहभागिता अत्यन्त जरुरी रहेको बताउनुभयो । 

“विगतमा हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफल स्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको थियो ।” उहाँले भन्नुभयो , “नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ । आज स्थानीय तहमा हजारौँ महिलाहरूको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ । लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उल्लेखनीय रूपमा वृद्धि भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरूमा पनि सकारात्मक सुधार भएका छन् ।” 

उहाँले समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरू भने अहिले पनि कायम रहेको उल्लेख गर्नुहुँदै कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरूलाई निमिट्यान्न पार्न नसकिने र त्यसका लागि सामाजिक जागरूकता आवश्यकता पर्ने बताउनुभयो । 

सामाजिक जागरूकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरू कायमै रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न बाध्य छौँ भन्नुभयो ।

अज्ञानता र कुरीतिको आड लिएर हुने खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले यस खाले अपराधलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रूपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । 

उहाँले यस्ता विभिन्न प्रकार र स्वरूपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरूलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था तथा समाजमा नैतिक जागरण र सचेतना अभियान चलाउनु आवश्यक छ भन्नुभयो ।

उहाँले महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मूलतः शिक्षामा जोड दिँदै महिलाको सशक्तीकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान समेत गर्नुभयो । 

उहाँले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

महिला अधिकार स्थापित गर्ने सङ्घर्षको दिनका रूपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ ।

 

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ४३ बजे