आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

नेपालमा ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायालयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदार हुने, सम्मानजनक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ । नेपालमा पनि आज सार्वजनिक बिदा दिइने गरेको छ ।

कसरी सुरु भयो नारी दिवस?
​​​​​​​सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रूपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत् र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गर्नुभयो । 

सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले यो विषयलाई औपचारिक रूपमा प्रवेश गराउनुभयो , जुन सम्मेलनमा १७ देशका एक सयभन्दा बढी महिला नेतृहरूको सहभागिता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरूले सहमति जनाउनुभयो ।

सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रूपमा नै मनाउन सुरु गरियो । क्रमशः अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन सुरु गरे । यो आ आफ्नो देशअनुसार मनाउने चलन क्रमशः बढ्दै गयो । 

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट् पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र सङ्घका सबै सदस्यले यसलाई संसारभर मनाउन थालेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ०१ बजे