‘अलर्ट’ रहन ७७ जिल्लाका सीडीओलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौ । पछिल्लो केही समयदेखि बैंक तथा वित्तीय संस्थालाइ जोडेर विभिन्न अभिव्यक्तिहरू आएपछि सुरक्षा व्यवस्था कडा बनाएको छ। गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन मातहतका निकायलाई परिपत्र गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहमन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको हाे । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई लक्षित गरी केही स्थानमा अवाञ्छित गतिविधि हुन थालेपछि यस्ताे निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनले भने, ‘बैंक वित्तीय संस्था लघुवित्त लगायतमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छौँ। त्यही अनुसार उहाँहरूले सुरक्षा मिलाउनु भएको छ ।’ पछिल्लाे समय व्यवसायी दुर्गा प्रसाईँले झापामा आयोजना एक सार्वजनिक कार्यक्रममा लघुवित्त र बैंकका कर्मचारीलाई कालो मोसो दल्न उक्साहट गर्ने अभिव्यक्ति दिएका थिए।

प्रसाईंको उक्त उक्साहटपूर्ण अभिव्यक्ति लगत्तै जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलेर पैसा समेत लुटिएको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटना बाहिरिएसँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् । परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : ३१ बजे