ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं.३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिनुभयो । 

दुर्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

घटनाको विस्तृत जानकारी आउन बाँकी छ । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ५७ बजे