प्रधानमन्त्री दाहाललाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट आज दर्ता हुने 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि आज दर्ता हुने भएको छ । 

शुक्रवार न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि दुई वर्षपछि अर्थात् आइतबार रिट दर्ता गरिन लागेको हो । 

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन । तर यसअघि सो मुद्दा दरपिठ भएपछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उहाँहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा रिट लिएर जानुभएपछि शुक्रवार सोही रिटमा सुनवाइ गर्दै न्यायाधीश द्वय कार्की र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिनुभएको थियो । 

शुक्रवार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आज आदेशको प्रतिलिपि लिई रिट आजै मुद्दा दर्ता गर्न लागेको अधिवक्ता ज्ञानेन्द्रराज आरणले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ३० बजे