साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राजनैतिक दलको चरित्र र  विधि पद्धति

राजनैतिक दल भनेको केवल मान्छेको भिड जम्मा गर्नु मात्र होइन । ती मान्छेलाई विचार कार्यक्रम उद्देश्य नीति विधि तथा निश्चित पद्धतिबाट अगाडि बढाउन सकेको अवस्थामा मात्र सामाजिक आर्थिक रूपान्तरण गर्न सकिन्छ ।

केवल नाम मात्रको रूपान्तरण भइदियो भने त्यो समाजको लागि केही अर्थ हुँदैन । हामीले भन्ने गरेका सामाजिक आर्थिक रूपान्तरणले समाजको गुणात्मक परिवर्तन  र फड्को मार्न सक्ने हुनुपर्दछ । त्यसको लागि दल भित्रका केही दलाल र विधि पद्धति नमान्ने व्यक्तिवाद वाधक बनिरहेको अवस्था छ । यसलाई सबै राजनैतिक दल, नागरिक समाज  संस्थाहरूले ध्यान दिन आवश्यक देखिन्छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लामो र सम्मानित अनुभव भएको राजनेता राजनैतिक दलको नेतृत्वमा रहनु जरुरी छ । जस्तै जर्मनीका एकीकरणका नायक बिस्मार्क इटालीका प्रथम प्रधानमन्त्री कामिलो वेन्सु काभुर ,आधुनिक टर्कीका संस्थापक  कमाल अतातुर्क, आदि । 

हरेक राजनीतिले जनताको विश्वास बोलेको देखिनुपर्दछ । राजनेताहरू सत्य बोल्छन् । सत्यलाई प्रमाणित गर्नुपर्दैन । सत्यको व्याख्या पनि चाहिँदैन ।सत्यभित्र आत्मा छुपेको हुन्छ । विवेक बसेको हुन्छ । यसो भन्नुको मतलब मन जनताको हुन्छ मुख मात्र नेताको हुनु हो । तर विडम्बना आजभोलि विश्वमा राजनीति असत्य बोल्ने पेसाका रूपमा रूपान्तरित हुदैछ ।  अहिले धेरै जसो राजनैतिक कर्मीहरू झुट व्यभिचार र अनविश्वासमा उभिएर राजनीति गरिरहेका छन् । जसको उदाहरण पछिल्लो घृणित सत्ता समीकरणको खेललाई लिन सकिन्छ । वास्तवमा यो राजनीति, राजनीति नै होइन । जसको परिणाम आज जनता र राज्यको दुरी बढ्दै गइरहेको छ । यस्तो अवस्था नेपाली जनताको सुन्दर भविष्यको आसामा तुसारपात हो । 

कुनै पनि सकारात्मक कार्यको उत्कृष्ट परिणाम निकाल्न असल नियतले गरिने एउटा विधि हुन्छ । सकारात्मक कार्यको लागि मात्र नभएर नकारात्मक कार्यको लागि समेत विधिको अर्थ र महत्त्व हुन्छ । चोरहरूले समेत चोर्नको लागि विधि बनाएका हुन्छन्  । 

राजनैतिक दलहरूले  जनताको निम्ति राजनीति गर्नै हो केवल सत्ता स्वार्थको निम्ति होइन गेटेलको परिभाषामा “राजनैतिक दल यस्ता नागरिकहरूको सङ्गठित समुदाय हो जसले एउटा राजनैतिक इकाई सरह काम गर्दछ र आफ्नो मतदानको शक्ति प्रयोग गर्दै शासनलाई आफ्नो नियन्त्रणमा राख्दै आफ्ना सबै नीतिहरूलाई कार्यान्वित गर्ने प्रयत्न गर्दछ—” ।  यसो भनिरहँदा सबै देशमा एकै प्रकृतिका राजनैतिक प्रणाली छन् भन्ने चाहिँ होइन, दलहरू रहने नरहने कति रहने ? कस्तो रहने भन्ने हरेक देशको आ—आफ्नै राजनैतिक प्रणाली अनुरूप एक दलीय, दुई दलीय र बहुदलीय हुन्छ । 

यस्ता आधुनिक राजनैतिक दलको उदय १९ औँ शताब्दीमा  बेलायतबाट भएको  मानिन्छ जहाँ लोकतन्त्र छ, त्यहाँ राजनैतिक दलको अस्तित्व हुन्छ । राजनैतिक दलको मुख्य उद्देश्य निर्वाचनमार्फत चुनिएर सरकार सञ्चालन गर्नु हो । यसरी सरकार सञ्चालन गर्दा राजनैतिक दल जिम्मेवार इमानदार, नैतिकवान्, जबाफदेही र पारदर्शी हुनु लोकतन्त्रका आधारभूत सर्त हुन । त्यसैले जहाँ राजनैतिक नेतृत्व नैतिकवान् र इमानदार हुन्छ त्यहाँ लोकतान्त्रिक प्रणाली फस्टाउँछ फुल्छ । जहाँ नैतिकहीन र बेइमान राजनैतिक नेतृत्व हुन्छ त्यहाँ राजनैतिक गतिरोध आइरहन्छ । भ्रष्टाचार मौलाउँछ ,गुणस्तरीय विकास निर्माण शून्य हुन्छ । राजनैतिक दल जिम्मेवार नैतिकवान् रहेमा राजनैतिक गतिरोध अन्त भई राजनैतिक स्थिरता हुनुका साथै हामीले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सकिन्छ । लोकतन्त्र आफैमा एउटा नैतिकता र इमानदार चरित्र बोकेको प्रणाली हो । यही विधिको शासनको निम्ति लामो सङ्घर्ष र बलिदानी भएको हो ।

सरकार सञ्चालन गर्दा राजनैतिक दल जिम्मेवार इमानदार, नैतिकवान्, जबाफदेही र पारदर्शी हुनु लोकतन्त्रका आधारभूत सर्त हुन । त्यसैले जहाँ राजनैतिक नेतृत्व नैतिकवान् र इमानदार हुन्छ त्यहाँ लोकतान्त्रिक प्रणाली फस्टाउँछ फुल्छ । जहाँ नैतिकहीन र बेइमान राजनैतिक नेतृत्व हुन्छ त्यहाँ राजनैतिक गतिरोध आइरहन्छ ।

यही विधि, पद्धति, प्रक्रियाद्वारा व्यवस्था सञ्चालन गर्ने परिपाटी व्यवहार सिद्ध विषय हो यदि पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवित रहँदैन । मुलुक सञ्चालन गर्ने मुल नीति राजनीति हो । राजनीतिलाई सञ्चालन गर्ने प्रमुख यन्त्र राजनैतिक दल हो । दललाई सञ्चालन गर्ने उसको सङ्गठन हो । सङ्गठनलाई सञ्चालन गर्ने उसले बनाएको र स्वीकार गरी आएको निश्चित विधि विधान मूल्यमान्यता प्रक्रिया पद्धति तथा गतिशील अभ्यास हुन । गतिशील अभ्यासको पालना गरिएन र विज्ञानवादी भइएन भने कुनै पनि प्रणाली र व्यवस्था जङ्गली विधि समान बन्न पुग्छ । कुनै पनि सकारात्मक कार्यको उत्कृष्ट परिणाम निकाल्न असल नियतले गरिने एउटा विधि हुन्छ ।

सकारात्मक कार्यको लागि मात्र नभएर नकारात्मक कार्यको लागि समेत विधिको अर्थ र महत्त्व हुन्छ । चोरहरूले समेत चोर्नको लागि विधि बनाएका हुन्छन्  । तर दुर्भाग्य आज नभई नहुने सङ्गठन भित्रको विधि र पद्धतिको पालनाको अनुभूत गर्न नपाइएको गुनासो हरेक पार्टीका कार्यकर्ताबाट सुनिन थालेको छ । यसरी विधि पद्धतिको पालना नहुनुमा पालना नगर्दा केही दण्ड व्यहोर्नु पर्ने अवस्था  नभएकोले हो भन्ने निष्कर्ष राजनैतिक विश्लेषकको रहेको छ । उनीहरूको विश्लेषणमा अहिलेका राजनैतिक दलहरू  राज्य दोहन गर्ने र, तस्कर माफियासँग दलाली गर्ने भाँडोको रूपमा प्रयोग भइरहेको भन्ने रहेको छ ।

एउटा इमानदार कार्यकर्ता आफ्नो नेतालाई  सम्मानित र विश्वासिलो ठानेर गौरवका साथ भेट्न गयो भने समय पाउँदैन । तर तस्कर माफिया दलाल आयो भने उसले सहजै घण्टौँ समय पाउँछ । आफ्ना कार्यकर्तासँग भेट्नु र बोल्नुपर्दा आफू होचिएको वा तल गिरेको महसुस गर्ने केही नेता तस्कर दलालसँग बस्न पाउँदा चाहिँ गर्व गर्दछ । कार्यकर्तालाई झुट्टा आश्वासन बाँडेर वर्षौँ धाउन लगाएर रित्तो हात फर्काइदिन्छ । कुनै पनि संवैधानिक नियुक्तिमा जान लाखौँ करोडौँ रकमको लेनदेन दलाली भएको पत्र पत्रिकामा आएकै हो ।  कार्यकर्ता उपरको यस्ता व्यवहार कुन विधि विधान अन्तर्गतको व्यवहार हो ? यस्तै कार्यशैलीले सङ्गठन विस्तार कसरी होला ? हरेक व्यक्तिका लागि आफ्नो आत्मसम्मान सबैभन्दा प्यारो हुन्छ । आफू अपमानित भएको र स्वाभिमानमा चोट पुगेको व्यक्तिको लागि चोट पुर्‍याउने नेताको उपदेश प्रवचन प्रशिक्षण प्रिय हुँदैन । भर्खरै फेरिएको सत्ता समीकरणका क्रियाकलापले राजनैतिक  दलहरुबीच रहनुपर्ने न्यूनतम विश्वास समझदारी पनि नरहने गराएको छ । राजनैतिक दलहरूले देशको लागि केही गर्लान् भन्ने जनताको विश्वास गुमाएका छन् । 

त्यसै कारण आजभोलि दिन प्रतिदिन दलहरूप्रति जनताको वितृष्णा बढ्न थालेको छ । कुनै व्यक्ति पदले भूमिकाले योग्यता र क्षमताले अनि दायित्व जिम्मेवारीले ठुलो सानो तलमाथि दायाँबायाँ आदि हुन सक्दछ तर विधिले विधि चिन्दछ, मान्छे चिन्दैन विधिले आफ्नो निश्चित प्रक्रिया जान्दछ । विधिले निश्चित आधार तर्क तथ्य प्रमाण विज्ञान वस्तुगत आधारलाई मान्दछ । जस्तै रेल आफ्नो निश्चित लिकबाट हिँड्नु पर्ने कुरा एउटा विधि हो । त्यहाँ रेल कुन कम्पनीको हो ? रेल कति धेरै गतिमा दौडन्छ ? भन्ने जस्ता प्रश्न सवालले केही तात्त्विक माने राख्दैन । बरु तात्त्विक महत्त्वको कुरा त रेल निश्चित लिकबाट र नियमन गर्ने निकायको नीति निर्देशनमा चल्नुपर्दछ । बस त्यो नै विधि हो । विधि सामुदायिक हितमा आधारित हुन्छ । एउटा व्यक्तिको हित अनुकूल हुँदैन । विधि र नीतिले व्यक्ति र संस्था दुवैलाई एउटा निश्चित मार्ग निर्देशनमा हिँडाउँछ वा त्यसै अनुकूल हिँड्न बाध्य हुनुपर्छ । त्यो नै सङ्गठनको जीवन्त रूप हो । त्यस्तो सङ्गठनले मात्र आफ्नो लक्ष्य भेदन गर्न सफल हुन्छ । नीति नभएको संस्था बाटो भुलेको यात्री समान बन्न पुग्छ । तसर्थ विधिलाई पालन गरौँ । हरेक राजनैतिक दलले आफ्नो जनविरोधी चरित्र सुधारौँ विधि पद्धतिको पालना गरौँ । यति हुन सक्यो भने देश विकास र पार्टी बिस्तार गर्न कुनै दर्शन चाहिँदैन । अस्तु ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ५२ बजे