साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लामोसाँघु सहकारीको रवाफ : कर्मचारी र व्यवस्थापकबाटै सेवाग्राहीलाई काँग्रेस सदस्य बन्न दबाब

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी तथा व्यवस्थापकले ऋण लिन आउने सेवाग्राहीलाई नेपाली काँग्रेसको सदस्यता लिन दबाब दिने गरेको पाइएको छ । सहकारीले काँग्रेसको सदस्यता लिए ऋण दिने नत्र नदिने भन्दै सेवाग्राहीलाई धम्क्याउन थालेको पाइएको हो । 

व्यवस्थापक र कर्मचारीको मिलेमतोमा सहकारीले नेपाली काँग्रेसको पार्टी सदस्य लिए विना कागजात ऋण दिने गरेको गुनासो सुनिएको हो । 

०६५ सालमा बलेफीका  केही समाजसेवी र बुद्धिजीवीहरूको पहलमा स्थानीय किसान तथा साना व्यवसायीहरू सेयर सदस्य भई सञ्चालनमा रहेको सहकारीमाथि नेपाली काँग्रेस निकट कर्मचारी तथा व्यवस्थापकले मनोमानी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । 

लामोसाँघु सहकारीमा कार्यरत  व्यवस्थापक रबिन बिक र  कर्मचारी साजन तामाङले आफ्नो सङ्गठनमा आबद्ध भएकाहरूलाई मात्रै ऋण दिने गरेपछि स्थानीय आक्रोशित भएका हुन् ।  गएको स्थानीय ,प्रदेश र सङ्घको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई भोट दिने भए मात्र  ऋण दिने अन्यथा सहयोग नगर्ने धम्की दिएको एक शेयर सदस्यले भने । 

नाम नखुलाउने शर्तमा ती सदस्यले भने,‘हामीलाई कार्यालय जाँदा अहिले पनि धम्की आउँछ । व्यवसायका लागि ऋण लिन जाँदा नेपाली काँग्रेसको सङ्गठित सदस्य लिए दिन्छु नत्र कागज पुग्दैन भनेर फर्काउँछन् ।’

केही समयअघि मात्र  व्यवस्थापक  बिक र  कर्मचारी तामाङले सहकारीमा लापरबाही गरेको विषयमा कुरा उठेपछि त्यहाँको सह- व्यवस्थापक रुपा रायमाझी र कर्मचारी राधिका तिमल्सिना (पराजुली) बीच कार्यालय भित्रै भुत्ला-भुत्ली  समेत भएको थियो। सोही घटनाले  गर्दा उनीहरुबीच अहिलेसम्म बोलचाल नभएको कार्यालयका एक सदस्यले बताए । 

गरिब किसानको गाँस काटेर जम्मा गरेको रकमबाट सहकारीको नियम बिपरित बैँकको कर्मचारीको भन्दा बढी सेवा सुबिधा खाँदै आएको,मनपरी भत्ता लिएको बिषयलाई उठाउँदा  सहकारीको साधारणसभाबाट निर्वाचित कोषाध्यक्ष तथा ऋण समितिको संयोजक बालकृष्ण तिमल्सिनालाई उल्टै कर्मचारीको सेटिङले राजिनामा दिन बाध्य पारेको ती सदस्यले जानकारी दिए । 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ६ : ०० बजे