एमालेको मिसन ग्रासरुट अभियान : समाजलाई योगदान गर्नेको पहिचानदेखि पार्टी प्रवेशको लहर  

विराटनगर । नेकपा एमालेले देशव्यापी रूपमा थालेको मिसन ग्रासरुट अभियानले कोसी प्रदेशमा तीव्रता लिँदै गएको छ । 

पार्टीका केन्द्रीय नेताहरूसहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरू यति बेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यति बेला पालिका र वडा स्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा रहेका छन् । 

कतिपय स्थानीय तहमा दोस्रो चरणको बैठक बसेर समाजमा उल्लेख्य योगदान पुर्‍याउनेहरूको पहिचान गर्ने, सामाजिक आवश्यकताहरूको पहिचान गर्ने र छलफलका क्रममा आउने समस्याहरूको समाधान खोज्ने क्रममा यति बेला एमालेका कमिटीहरू सक्रिय छन् । 

मिसन ग्रासरुट अभियानमा विराटनगर महानगरपालिकामा खटिनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले अभियान महानगरमा तीव्रतर रूपमा अघि बढिरहेको बताउनुभयो । 

बुधवार मात्रै विराटनगर महानगरपालिकाका वडा नं.१, ४, ६ र ८ मा विस्तारित बैठकहरू भएको उहाँले जानकारी दिनुभयो । विराटनगरका वडा कमिटीहरूले समाजमा उल्लेख्य योगदान गर्ने, उद्योगी व्यवसायी, शिक्षण संस्था, धार्मिक संस्थाहरू, विभिन्न क्लब लगायतका समाजमा क्रियाशील सङ्घसंस्था र तिनमा उल्लेख्य योगदान गर्नेहरूको पहिचान गर्ने कार्य आरम्भ गरेको नेकपा एमाले विराटनगर महानगरका उपसचिव जयप्रकाश महतोले जानकारी दिनुभयो । 

यस्तै मोरङकै उत्तरी क्षेत्रमा खटिनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बेलबारी र केराबारी लगायतका पालिकामा अभियान अन्तर्गत विस्तारित बैठक सम्पन्न गरी प्रशिक्षण कार्यक्रमको तालिका बनाउने काम सम्पन्न गरेको बताउनुभयो । 

यस्तै सदस्यता नवीकरण शिविर आजदेखि सञ्चालन गर्नेदेखि २७ गते बेलबारी र २८ गते पालिका स्तरीय प्रशिक्षणको कार्यक्रम तय भएको छ । मोरङकै जहदा र धनपाल थान र कटहरी गाउँपालिकामा पनि पालिका स्तरीय विस्तारित बैठकहरू आरम्भ भएको नेकपा एमालेका केन्द्रीय सदस्य जगदीश कुसियैतले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज जहदा गाउँपालिकाको विस्तारित बैठक बसेको छ भने धनपालथानमा १८ र कटहरीमा २० गते पालिका स्तरीय बैठक बस्ने तय भएको छ । 

यस्तै प्रदेश १ कै ओखलढुङ्गामा पनि पालिका स्तरीय बैठकहरू सम्पन्न भई वडा कमिटीहरूको विस्तारित बैठक आरम्भ गर्न लागिएको छ । अभियन्ता नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख घनश्याम खतिवडाका अनुसार फागुन ११ मा जिल्ला कमिटीको विस्तारित बैठक बसेर आरम्भ भएको अभियान अब वडा तहमा पुगेको छ । 

यस्तै अभियानकै क्रममा फागुन २१ गते सिद्धिचरण नगरपालिकामा सहिद दिवस विशेष कार्यक्रममा बीच मनाउने तयारी भइरहेको खतिवडाले जानकारी दिनुभयो । 

उता सोलुखुम्बु जिल्लामा पनि पालिका स्तरका विस्तारित बैठकहरू सम्पन्न गरी वडा तहका बैठकहरू र वडा तहसम्मका जनसङ्गठनका कमिटीहरू निर्माण सम्पन्न भएको अभियन्ता केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

प्रदेश १ कै पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पनि मिसन ग्रासरुट अभियान तीव्र रूपमा अघि बढेको छ । आज ताप्लेजुङको श्रीजङ्घा गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ भने फुङलिङ नगरपालिकाको छलफल जारी रहेको नेकपा एमाले ताप्लेजुङ जिल्ला कार्यालय सचिव लिलाचक्र गुरुङले बताउनुभयो । 

यस्तैगरी, खोटाङमा पनि अभियानलाई तीव्र रूपमा अघि बढाइएको छ । पालिका कमिटीहरूको बैठक सम्पन्न गर्दै वडा स्तरीय बैठकहरूको आयोजना गर्न थालिएको छ । अहिलेसम्म ७ वटा पालिकामा विस्तारित बैठकहरू सम्पन्न भई चार वटा पालिकामा वडा स्तरीय बैठकहरू सुरु भएका छन् । 

यस्तै सदस्यता नवीकरणका लागि शिविर पनि सञ्चालन गरिएको छ । नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालका अनुसार जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ र दिप्रुङमा शिविर सञ्चालन भइरहेको हो । 

सुनसरीमा पनि मिसन ग्रासरुट अभियान आरम्भ भएको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरी पालिका स्तरको अभियान अघि बढेको छ । 

उता सङ्खुवासभा जिल्लामा भने आज जिल्ला कमिटीको विस्तारित बैठक बसेर विभिन्न योजनाहरू तर्जुमा गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोसी प्रदेशका इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा विभिन्न पार्टी परित्याग गरी ३५ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

पार्टी प्रवेश गर्नेहरूमा एकीकृत समाजवादीका पार्टी प्रदेश कमिटी सदस्य बद्री सापकोटा, जिल्ला कमिटी उपसचिव, यमबहादुर सुब्बा, सभापोखरी पालिका कमिटीका अध्यक्ष गङ्गाप्रसाद सापकोटा, माओवादी केन्द्रका सभापोखरी पालिका कमिटी उपाध्यक्ष शेरबहादुर खड्कालगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । 

उहाँहरूलाई नेकपा एमाले प्रदेश इन्चार्ज गौतम, प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतले अबिर खादा लगाएर स्वागत गर्नुभएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ४६ बजे