भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । ​भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) बाट आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा १ रूपैयाँ २१ पैसा र डिजेलमा ५ रूपैयाँ ५ पैसा घटेर आएको छ। यसैगरी आइओसीले पठाएको मूल्य सूचीअनुसार मट्टीतेलमा ३ रूपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रूपैयांँ ३ पैसा घटेर आएको छ।

खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ३ सय ३९ रूपैयाँ ६ पैसा बढेर आएका कारण निगमलाई प्रति सिलिण्डर ६ सय ३५ रूपैयाँ ५० पैसा घाटा लाग्ने निगमले जिकिर गरेको छ।

तर समग्रमा निगमलाई केही नाफा भएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर निगमले आइओसीलाई भुक्तानी गर्नुपर्ने तथा पुरानो बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब १६ अर्ब रूपैयाँ तिर्न बाँकी रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जनाएको छ।

निगमले केही वर्षयता पेट्रोलियम पदार्थमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ। उक्त स्वचालित प्रणाली लागू गर्दा निगमले भारतबाट इन्धनको मूल्य बढेर आए त्यसैअनुसार यहाँ पनि मूल्य बढ्ने र घटेर आए त्यसैअनुसार यहाँ मूल्य घट्ने जनाएको थियो।

तर आइओसीले पेट्रोलियम पदार्थमा भाउ बढेको सूची पठाउनासाथ यहाँ निगमले मूल्य बढाउने तर आइओसीले भाउ घटेको मूल्य सूची पठाउँदा भने बक्यौता‚ सरकारसँग लिएको ऋणलगायत कारण देखाउँदै मूल्य नघटाएका धेरै उदाहरण छन्।

निगमको ‘स्वचालित मूल्य प्रणाली’ इन्धनको भाउ बढाउने र उपभोक्तालाई मूर्ख बनाउने उपायमात्र भएको टिप्पणी सर्वसाधारणले गर्दै आएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ४३ बजे